निकुञ्ज प्रमुख बरालको गैँडा तस्करीमा जेलपरेका र परिवारसँग आह्वान : विगतलाई भुलेर संरक्षणमा लागौँ

चितवन : चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले विगतलाई भुलेर गैँडा देखि वन्य जन्तु संरक्षणमा लाग्न आह्वान गर्नुभएको छ । कालिका नगरपालिका वडानम्वर ११ का चेपाङ र तामाङ समुदायका व्यक्तिहरुलाई उक्त आह्वान गर्नुभएको हो । यस वडाका केही व्यक्तिहरु गैँडा तस्कर गरेको मुद्दामा कोही जेल जीवन विताइरहेका छन् भने कोही जेलबाट निस्किएकाहरु छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण कोषको आयोजनामा आज सौराहामा भएको गैँडा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै बरालले गैँडा तस्कर मुद्दामा जेल जिवन विताएर पनि फेरि त्यही कार्यमा फर्कन सक्ने खतरालाई निकुञ्जले ध्यान दिई आयमुलक कार्यक्रममा जोड दिएको बताउनुभयो ।
आयमूलक कार्यक्रम नभएपनि गैँडा लगायत वन्य जन्तु मार्न हुँदै हुँदैन बरालले भन्नुभयो, त्यसमा पनि निकुञ्ज आफैँसँग पर्याप्त स्रोत र अधिकार नभएपनि आयमूलक कार्यक्रमका लागि स्थानीय सरकारसँग आग्रह गरेको बताउनुभयो । विगतका पीडालाई भुलेर सँगै संरक्षणमा लाग्न उहाँले गाउँवासीलाई आग्रह गर्नुभयो । गैँडा मार्नेलाई कानुनी सजाय थप कडा भएको भन्दै कुनै नयाँ व्यक्ति गाउँ आएर प्रलोभन देखाउन खोजे निकुञ्जमा खवर गर्न उहाँको आग्रह थियो ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले छिट्टै कालिका नगरपालिका वडानम्वर ११ को काउले ठाउँको स्थलगत निरीक्षण गरी कृषिका कुन कुन कार्यक्रमको सम्भावना छ त्यसको अध्ययन गरेर कार्यक्रम दिने बताउनुभयो ।
चेपाङले गैँडा मार्छन् भन्ने वदनामी मेटाउनुपर्नेमा जोड दिँदै वनले अव जेलबाट आएका र जेलमा रहेकाहरुको परिवार नै संरक्षणकर्मी भएर उदाहरणीय वन्न सुझाव दिनुभयो ।
त्यसका लागि नगरपालिकाले कार्यक्रम गर्ने उहाँको भनाई छ । कार्यक्रममा कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरीले धेरै छलफल र वहस भएपनि उक्त क्षेत्रका स्थानीयका लागि कुनै पनि सिपमुलक कार्यक्रमहरु पुग्न नसकेको बताउँदै आयआर्जन गर्ने बाटो नै नभएर उनीहरु संरक्षणविरुद्ध लाग्न थालेको बताउनुभयो ।
अव स्थानीय के चाहान्छन् गहिराइमा बुझेर सोही अनुसारको कार्यक्रम ल्याउन नगरपालिका र निकुञ्जलाई आग्रह गर्नुभयो । बासघारी, सैपाङ क्षेत्र अन्य ठाउँभन्दा वढि समस्यामा रहेका भन्दै चाँडै स्थानीय सरकारले वास्तविक समस्या वुझेर समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । जेलबाट निस्किएकाहरु पनि घरखर्च कसरी धान्ने र परिवार पाल्ने भन्ने समस्या सृजना भइसकेको बताउनुभयो ।
चारैतिर जंगलले घेरेको सो ठाउँको विकासका लागि तोकेरै कार्यक्रम लैजान आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै स्थानीयहरुले गैँडा तस्करको दागलाई मेटाउन चाहेको भन्दै भोट हालेर जिताएका नेताहरुले कुनै पनि विकासको काम नगरिदिएको गुनासो गरे ।
करिव ७२ घर रहेको सो क्षेत्रमा विद्यालयको नाउँमा कक्षा ३ सम्म मात्रै पढाई हुने, अहिलेसम्म सडक समेत नगएको, विद्युत नपुगेका भन्दै अशिक्षा, बेरोजगारी र गरिवीले अपराधिक कार्यमा लाग्न प्रेरित गरेको भन्दै तत्काल मौरी पालन, बाख्रा पालन, गाईभैँसी पालन जस्ता कार्यक्रम लगिदिन माग गरेका छन् ।
साथै गैँडा तस्करको मुख्य नाइके पक्राउ नपर्नु तर सोझा साझा चेपाङ मात्रै पक्राउ गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । गैँडा मारेर खाग विक्रि गरेको मुद्दामा पक्राउ परी जेल जिवन विताइरहेकाहरु घर परिवार नै विहान वेलुका के खाने र एक सरो लगाउनै समस्या रहेको बताएका स्थानीयले राज्यले नै विकृत मानसिकता सृजना गरिदिएको बताए ।
विकास र आयमूलक कार्यक्रमको आशा गरेको भन्दै उनीहरुले भाषण र कार्यक्रम भन्दा काम गरेर आफूहरुको आर्थिक अवस्था उकास्ने कार्यक्रम ल्याउन माग गर्दै शिक्षा र जनचेतनामा जोड दिन माग गरेका थिए ।
कार्यक्रममा बोल्दै मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरुले पनि अव निकुञ्ज र मध्यवर्ती क्षेत्र वाहिर पनि कार्यक्रम गर्नुपर्नेमा जोड दिँदै वार्षिक कार्ययोजना बनाएर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मध्यवर्ती सामुदायिक वनहरुको समूहका अध्यक्ष प्रकाश ढुँगानाले वार्षिक कार्यक्रम गराउँदा सिमान्तकृत चेपाङहरलाई पनि सहयोग पुग्ने गरी बनाउनुपर्ने र सोही अनुसारको सहयोग गर्ने बताउनुभयो । मध्यवर्ती वनका पदाधिकारीहरुको ध्यान त्यसतर्फ पुग्नुपर्ने बताउँदै भोके पेटले संरक्षण गर्न नसक्ने बताउनुभयो ।
आयआर्जन गर्न सकिने कार्यक्रम लैजाने आफूले पनि पहल गर्ने बताउँदै भोकै बस्नुपरेपनि वन्यजन्ुत मार्ने र वेचविखनमा लाग्न नहुने बताउनुभयो । अव स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक अवस्था सुधार हुने कार्यक्रम गर्ने जानकारी दिनुभयो । कार्यक्रमको प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत अनिल प्रसाईले सहजीकरण गर्नुभएको थियो ।