जन्म दिनको अवसर पारेर समाजसेवी प्रेमकुमार श्रेष्ठद्वारा पार्कलाई डेढ लाख सहयोग

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा रामनगर पुष्प वाटिका सञ्चलनमा आएको छ । इलाका प्रहरी कार्यालय रामनगरसँगै करिब पाँच कठ्ठा क्षेत्रफलमा पुष्प वाटिका सञ्चालनमा आएको हो ।
समाजसेवी प्रेमकुमार श्रेष्ठले सो पुष्प वाटिकामा निर्माण गरिएको मितेरी पुलको उद्घाटन गरेसँगै पुष्प बाटिका सञ्चालनमा आएको हो । वाटिका सञ्चालनको अवसर तथा आफ्नो जन्म दिनको अवसर पारेर श्रेष्ठले वाटिकालाई एक लाख ५१ हजार रुपैयाँ सहयोग समेत गर्नुभएको छ । सो अवसरमा श्रेष्ठले आफूकहाँ सहयोग माग्न आउने जोकोही व्यक्तिलाई पनि खाली हात नफर्काउने बताउनुभयो ।
दुखि, गरिब तथा दीर्घ रोगीहरु सहयोग माग्न आएको अवस्थामा आफूले सक्दो सहयोग गर्ने श्रेष्ठको भनाइ थियो । धनसम्पत्ति थुपारेर मात्रै केही नहुने भन्दै उहाँले सहयोगको आवश्यकता भएका व्यक्ति तथा संस्थालाई निरन्तर सहयोग गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताउनुभयो । पार्क उद्घाटनका अवसरमा समाजसेवी टंकनाथ पौडेलले यो पार्क सबैका लागि पायक पर्ने ठाउँमा भएको भन्दै विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
पार्क निर्माण पश्चात यहाँको हरियाली तथा मनोरम दृश्यले मानिसलाई निरोगी बनाउन मद्दत गर्ने पौडेलको भनाइ थियो । यसैबीच, सो पार्क निर्माणका लागि करिब १२ लाख रुपैयाँ खर्च भएको रामनगर पुष्प वाटिकाका अध्यक्ष दिलकुमारी लामिछानेले बताउनुभयो । अहिले सानो आकारमा निर्माण भएको वाटिकालाई एक विघाहा क्षेत्रफलमा विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।
दैनिक बिहानदेखि साँझसम्म खुला रहने वाटिकामा हाल निशुल्क प्रवेशको व्यवस्था गरिएको भए पनि केही समयपश्चात व्यवस्थापन खर्च लिने योजना रहेको लामिछानेको भनाइ छ । सो पुष्प वाटिकाको प्रमुख संरक्षकमा तारानाथ कुँवर रहनुभएको छ ।