भरतपुर बागीश्वरीको आइसोलेसनबाट हालसम्म ३४६ जना निको

 चितवन : गत भदौ १४गतेबाट भरतपुर महानगरपालिका वडा नम्वर १ मा रहेको बागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा संचालित आइसोलेसन सेन्टरबाट हालसम्म ३४६ जना संक्रमित निको भएका छन् ।
चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाका अनुसार आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकोमा ३४६ निको भएर घर फर्किसकेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, प्रवक्ता अरुणपीडित भण्डारी, प्रदेश सांसद् विजय सुवेदी डा. भोजराज अधिकारी लगाएत जिल्लाका जनप्रतिनिधि र प्रशासकहरुको निकै सुझबुझ र पहलकदमीमा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रलाई विभिन्न दाताहरुले पनि सहयोग पुर्याउँदै आएका छन् ।
हिजो मंसिर ७ गते नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले उपचाररत संक्रमितहरुलाई जाडोमा न्यानोका लागि २५ थान कम्बल र १० थान त्रिपाल सहयोग गरेको छ ।
आइसोलेसन सेन्टरमै पुगेर नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नुभयो ।
बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित भरतपुर(१४ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले यहाँ उपचार गरेका सबै बिरामीले उपचार सेवा राम्रो भएको बताइरहँदा खुसी लाग्ने गरेको बताउनुभयो ।
भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले यो आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरुप्रति आभार प्रकट गर्नुभयो । यसअघि यस आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनबाट २ थान सि प्याप मेसिन सहयोग भइसकेको छ ।
यसैगरी लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन उपलब्ध गराएको पनि सो अवसरमा डा. कोइरालाले बताउनुभयो । यसैगरी गृह मन्त्रालयबाट २२ लाख मूल्य पर्ने एउटा ठूलै टेन्ट अनि रोटरी क्लबबाट गिजर, खेलसामग्री, हेलोजन बत्ती सहयोग प्राप्त भएको पनि उहाँले बताउनुभयो ।
यसैगरी लायन्स क्लब र केदार श्रेष्ठबाट ३०÷३० थान कुर्सी, नारायणगढस्थित लोकमान प्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यबाट योगा स्टेज, डिस्प्ले बोर्ड, उपचारपश्चात् निको भइ गएका मनोज बरनवालबाट ५ थान कुर्सी सहयोग भएको थियो । डा. कोइरालादारा सञ्चालित कार्यक्रममा चिकित्सालयका प्रशासक कमल पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।