नेकपामा राजदूत यान्कीको जादुः सचिवालय बैठक अघि नै ओली–प्रचण्ड समीकरण बनाउन जुटे नेताहरू

 

काठमाडौं : विभाजनको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको समीकरण बनाउने अभ्यास सुरु भएको छ।

वार कि पारको अवस्थामा रहेको नेकपाको विवादलाई मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्की सक्रिय भएपछि ओली र प्रचण्डपक्षका दोस्रो तहका नेता सक्रिय भएका हुन्।

ओलीका तर्फबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रचण्डका तर्फबाट जनार्दशन शर्मा, हरिबोल गवुरेल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल (बलदेव) सहमतिको विन्दु खोज्न सोमबारदेखि नै बैठकमा छन्।

१३ मंसिर अर्थात् आगामी शनिबार सचिवालयको बैठक बस्दैछ। त्यो बैठक अघि नै ओली–प्रचण्डको सहमतिको विन्दु खोज्ने प्रयत्नमा उनीहरू जुटेका छन्।

सोमबार चिनियाँ राजदूत यान्कीले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेपछि दोस्रो तहका नेताहरूको परामर्शले तिव्रता पाएको छ। २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले एक पक्षत्रीय रुपमा राजनीतिक प्रस्ताव राखेपछि चुलिएको विवाद साम्य हुने छाँट थिएन।

३ मंसिरको सचिवालय बैठकमा आफ्ना मन्तव्य राखी प्रचण्डको प्रतिवेदनको कडा जवाफ आउने भन्दै १० दिनका लागि प्रधानमन्त्री ओलीले समय मागेका थिए।

यसबीचमा दुवै पक्षका नेताहरूले सार्वजनिक रुपमा नै एक अर्कालाई आक्षेप लगाउँदै आएका थिए। चिनियाँ राजदूत यान्कीले केही दिन अघि प्रधानमन्त्री ओलीसँग भेट गरी नेकपाको विवाद मिलाउने गृह कार्य थालेकी थिइन्।

६ महिना अघि पनि यसरी नै भएको विवादपछि नेकपा विभाजनको बाटोमा जाँदा यान्की सक्रिय भएकी थिइन्। जसका कारण तत्कालका लागि नेकपाको विवाद मत्थर भएको थियो।

‘यान्की सक्रिय भएपछि नेकपाको विवाद मिल्छ। यसबीचमा चीनबाट रक्षामन्त्रीको समेत भ्रमण रहेकाले अहिले बिग्रहलाई रोक्ने अभ्यासमा उनी लागेकी हुन्’, उच्च स्रोतले भन्यो।

१४ मंसिरमा चीनका रक्षामन्त्री नेपाल भ्रमणका लागि काठमाडौं उत्रिँदैछन्।