काँग्रेसको वडा कार्यालय बनाउन मैयादेवी श्रेष्ठद्वारा जग्गा दान

चितवनः नेपाली काँग्रेस वडा कार्यसमिति भरतपुर ११ को भवन निर्माणका लागि नेपाली काँग्रेसकी नेतृ पूर्व सांसद एवं वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले जग्गा प्रदान गर्नुभएको छ । श्रेष्ठले भरतपुर ११ गोर्खाली टोलको मैयादेवी चोकमा रहेको करिब साढे १३ धुर जग्गा नेपाली काँग्रेस भरतपुर ११ को वडा कार्यसमितिलाई प्रदान गर्नुभएको हो ।
श्रेष्ठका तर्फबाट सो जग्गा उहाँका भतिजा प्रेम कुमार श्रेष्ठ र छोरा टंकनाथ पौडेलले नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको रोहबरमा वडा सभापति अम्मर बहादुर लामालाई हस्तान्तरण गर्नुभएको थियो । आइतबार भरतपुरमा आयोजित कार्यक्रममा काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले मैयादेवी श्रेष्ठले धेरै व्यक्ति तथा संस्थाहरुलाई सहयोग गर्नुभएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय निर्माण देखि जिल्ला र वडा कार्यालय स्थापनाका लागि समेत जमिन र आर्थिक सहयोग गर्दै आउनुभएको श्रेष्ठको भनाइ छ ।
सांगठनिक हिसाबले भरतपुर ११ मा नेपाली काँग्रेसको अवस्था कमजोर भए पनि काँग्रेस एक ढिक्का भएर अगाडि बढेको अवस्थामा आगामी निर्वाचनमा काँग्रेसको जीत हुने श्रेष्ठले बताउनुभयो । पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै नयाँ नेतृत्व आउनुपर्ने भन्दै श्रेष्ठले पार्टीको जिल्ला सभापति पदमा समेत आफ्नो उम्मेदवारी नरहने बताउनुभयो । सत्तारुढ नेकपा भित्र समेत आन्तरिक कलह रहेको अवस्थामा नेपाली काँग्रेस बलियो भएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ क का सभापति टंकनाथ पौडेलले आफू सार्वजनिक पदमा रहदा कुनै पनि सेवा सुविधा नलिने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिमा रहदा समेत कुनै पनि रकम नलिएको भन्दै आगामी दिनमा समेत सार्वजनिक पद धारण गरेवापतको पारिश्रमिक नलिने उहाँको प्रतिवद्धता रहेको थियो ।
कार्यक्रममा नेपाल महिला संघ चितवनकी अध्यक्ष एवं भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, समाजसेवी प्रेमकुमार श्रेष्ठ, नेपाली काँग्रेस महासमिति सदस्य राजेश्वर खनाल, क्षेत्रीय प्रतिनिधि श्रीप्रकाश कँडेल, ज्ञानेन्द्र गिरी, नेपाली काँग्रेस भरतपुर ११ का जग्गा खोज तथा समन्वय समितिका सहसचिव अशोक पराजुलीलगायतले मन्तव्य राख्नुभएको थियो । वडा कार्यासमितिले जग्गा प्राप्त गरेपश्चात आगामी ६ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । भवन निर्माण समितिको संयोजकमा श्रीप्रकाश कँडेललाई मनोनित गरिएको नेपाली काँग्रेस भरतपुर ११ का अध्यक्ष अम्मरबहादुर लामाले बताउनुभयो ।