२१ जुवाडे पक्राउ

काठमाडौं : जुवा खेलिरहेको अवस्थामा विभिन्‍न स्थानबाट २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको व्यास नगरपालिका १, हाईस्कुलटारका प्रविन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका ९, शिवालय मन्दिरनजिकै बस्‍ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङसमेत सात जनालाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडासहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।