ट्याक्टरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

 

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । गए राति कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।