नेकपा नेता सुरेन्द्र पाण्डे माथी अभद्र व्यबहार गर्नेलाई कारबाही गर्न माग

रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथी नाराबाजी जस्ता अभद्र क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग गरिएको छ । नेकपा राप्ती नगर कमिटीले एक विज्ञप्ती जारी गरी नगर कमिटीको तेश्रो बैठकलाई सम्बोधन गर्ने क्रममा कमिटी भन्दा बाहिरका केही अराजक व्यक्तिहरुले नाराबाजी गरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेको हो । कमिटी पद्धती विधान भन्दा बाहिर गई निर्देशित स्वरुप गरिएको कार्यप्रति घोर भत्सना र निन्दा गर्दछौं नगर कमिटी अध्यक्ष इमानसिंह लामा र सचिव रामचन्द्र पाठक द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । सभ्य,सुसंस्कार एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आर्दश अबलम्बन गर्ने लोकतान्त्रिक पार्टीका लागि नसुहाउने उक्त कार्य गर्ने,गराउने जो सुकै भए पनि छानविन गरी कडा भन्दा कडा कारबाहीको लागि पार्टी जिल्ला कमिटीलाई सिफारिस गर्दछौं विज्ञप्तीमा भनिएको छ । शनिवार दिउसो राप्तीको बीरेन्द्रनगरमा आयोजित बैठकमा सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपि शर्मा ओली निकटका युवाहरुले नेता पाण्डे विरुद्ध नाराबाजी गरेका थिए ।