भरतपुर तरकारी तथा फलफूल मण्डीको नयाँ कदम स् किसानलाई विना ब्याजमै ऋण प्रवाह गर्ने तयारी

चितवन : तीन करोड रुपैयाँ लगानीमा भरतपुरमा सञ्चालनमा आएको भरतपुर तरकारी तथा फलफूल मण्डीले किसानलाई बिना ब्याजमा ऋण प्रवाह गर्ने भएको छ ।
तरकारी तथा फलफूल उत्पादन गर्न चाहने चितवनका किसानलाई निव्र्याजे रुपमा निश्चित समयका लागि ऋण उपलब्ध गराइने भएको हो । भरतपुर तरकारी तथा फलफूल प्रालिले शनिबार पत्रकार सम्मेलन गर्दै किसानलाई २० हजार देखि ५० हजार रुपैयाँसम्म निब्र्याजे रुपमा ६ महिनाका लागि ऋण उपलब्ध गराइने जनाएको हो ।
प्रालिका अध्यक्ष शम्भु थापाले कृषक समूहलाई एक लाख रुपैयाँसम्म एक वर्षका लागि ६ प्रतिशत व्याजदर तथा एक लाख रुपैयाँ दुई वर्षका लागि ८ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने बताउनुभयो । शुक्रबारदेखि भरतपुर १० बाइपास रोडमा सञ्चालनमा आएको सो मण्डीमा ४४ वटा स्टल रहेको भन्दै खुद्रा तथा होलसेल रुपमा ताजा तरकारीहरु बिक्री वितरण गरिने थापाको भनाइ छ ।
विचौलियाका कारण किसानहरु मर्कामा परेका भन्दै प्रालिका सचिव साजन अधिकारीले किसानहरुले उत्पादन गरेको सम्पूर्ण तरकारीहरु आफूहरुले खरिद गरेर बिक्री गर्ने बताउनुभयो ।

किसानले उत्पादन गरेको तरकारी प्रालिले खरिद गरेर बढीमा १५ प्रतिशत मुनाफा राखेर बिक्री गरिने अधिकारीको भनाइ छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि मण्डी सञ्चालन गरिएको उल्लेख गर्दै प्रालिका प्रबन्ध सञ्चालक कृष्ण शंकर अधिकारीले मंसिर ८ गते किसानहरुसँग छलफल राखिएको बताउनुभयो ।
चितवन जिल्लाका तरकारी तथा फलफूल उत्पादक किसानहरुसँग सोमबार बिहान १० बजेदेखि छलफल गरेर आगामी कार्ययोजना तयार पारिने समेत अधिकारीको भनाइ छ । प्रालिले ताजा तरकारी बिक्री गर्ने भन्दै चाँडै नै सफा र सस्तो खाना खुवाउने उद्देश्यले होटल समेत सञ्चालन गर्ने तयारी गरेको उहाँको भनाइ छ ।