मान्छे मार्न छठघाट पुगेका दास पेस्तोलसहित पक्राउ

रामभरोसी यादव, सिरहा । यहाँकाे औरहीस्थित छठघाटबाट कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका वडानम्बर ५ का २४ वर्षीय रविन दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दासको साथबाट १ थान लोडेड कटुवा पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियाले जानकारी दिनुभयो । उहाँका अनुसार दासले स्थानीय विनोद यादवलाई गोली हानी मार्ने योजना बनाएको खुलेको छ । दासको योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठघाट पुगेर उनलाई नियन्त्रणमा लिइएको हाे ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको सिरहा प्रहरी प्रमुख पजियाले बताउनुभयो । उहाँले पुरानो रिसिबीका कारण यादवलाई गोली हान्ने योजना बनाएको र गोलि हान्न दास छठघाट गएको खुलेको जानकारी दिनुभयो ।