उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ सम्पन्न

 

काठमाडौं : आज कार्तिक शुक्ल सप्तमी, शनिबार । छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज अन्तिम दिन भएकाले उदाउँदो सूर्यलाई अर्घ्य चढाएर समापन गरिएको हो ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात खरना षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार खान्छन ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमी अर्थात आजका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।