२५ लाख अनुदान ब्यहोर्ने गरी भरतपुरमहानगरद्धारा बंगुर पालनका लागि प्रस्ताव माग

चितवन, मंसिर ५ । भरतपुर महानगरपालिकावासीका लागि पशुपंक्षिको नयाँ कार्यक्रम सार्वजनिक गरिएको छ । व्यसायिक बंगुर पालन गर्न इच्छुकहरुलाई महानगरपालिकाले १५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

मंसिर ४ गते सुचना प्रकाशीत गरेको महानगरपालिकाले लागत साझेदारीमा पशुपन्छी प्रवद्र्धन कार्यक्रम कार्य संञ्चालन प्रक्रिया सम्बन्धि मार्गदर्शन २०७७ भित्र रहेर लागत साझेदारीमा कार्य गर्न चाहानेले प्रस्ताव पेश गर्न सक्नेछन् ।

सहकारी संस्था, कृषक समूह,समितिहरुले निवेदन दर्ता गर्न सकिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीद्धारा हस्ताक्षर गरी जारी गरेको सुचनामा उल्लेख छ । निवेदनको साथमा व्यवसायिक कार्ययोजनाको ढाँचा तथा कार्यक्रम पेश गर्न भनिएको छ ।

लागत साझेदारीमा बंगुर प्रवद्र्धन कार्यक्रमका लागि नेपाल सरकार सशर्त अनुदान १० लाख, प्रदेश सरकार सशर्त अनुदान ५ लाख र महानगरपालिकाको १० लाख गरी २५ लाख साझेदारी गरिने महानगरपालिकाले जनाएको छ ।