खानेपानी मुहाननजिकै ११ वटा गाई मृत भेटिए

बैतडी: बैतडीमा खानेपानी मुहाननजिकै ११ वटा गाई मरेको अवस्थामा फेला परेका छन्।

पुर्चाैडी नगरपालिका वडा नम्बर ६ को मुडेलीधार खोलाको खानेपानी मुहानमा मरेका गाई फेला परेका हुन्।खानेपानी मुहानमा मरेका गाई भेटिएपछि सो क्षेत्रका स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

‘खबरप्राप्त हुन साथ प्रहरीले बुझ्दा ती गाई पाटन नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्ने भनेर पुर्चाैडी पठाएका हुन् भन्ने बुझ्नमा आएको तर, यकिन भने हुन नसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले भने।

उनले घटनाबारे थप अनुसन्धानका लागि दुई प्रहरी टोली परिचालन गरी घटनास्थलमा पठाएको बताए।

‘अहिले प्रहरी टोली घटनास्थलमा पुगेर रिपोर्ट गरिरहेको छ। घटना के कसरी भयो भन्नेबारे बुझ्नेछौं,’ उनले भने।पुर्चौडी नगरपालिकाका नगर प्रमुख रण बहादुर कुँवरले पनि घटनाबारे थाहा पाएपछि नगरपालिकाको टोली घटनास्थलमा गएको बताए।

उनले उपप्रमुखको टोली मरेका गाईहरूको बारेमा जाँचबुझको लागि घटनास्थलमा गएको बताए।

घटनास्थल पुर्चौडी नगरपालिकाको कार्यालयबाट ५ घण्टा टाढा पर्छ।

खानेपानी मुहानमा मरेका गाई फेला परेपछि खानेपानी दुर्गन्धित बनेको सो क्षेत्रका स्थानीयहरूको भनाइ छ।