भावी प्रहरी महानिरीक्षकका रुपमा उदाउँदै विश्वराज पोखरेल

उजिर कार्की
काठमाडौ  :  हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) का रुपमा कार्यरत् विश्वराज पोख्रेल भावी प्रहरी महानिरीक्षक (आईजीपी)का रुपमा उदाएका छन्।

दुईपटक अतिरिक्त महानिरीक्षक (एआईजी) को दौडमा लागेका पोख्रेल सरकारले दरबन्दी थप गरेसँगै एआईजी हुने अब प्रायः पक्का भएको हो।

उनी डीआईजी मध्येका वरिष्ठ हुन्। एसएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडी बढेका पोख्रेल केही दिनमै एक मात्र एआईजीमा बढुवा हुनेछन्।

यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोख्रेल एकमात्र बढुवामा परेका थिए। सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो।

दरबन्दी थपले भावी आईजीपीमा प्रतिस्पर्धाको बाटो बन्द भएको छ भने नेपाल प्रहरीले अनुभवी नेतृत्व पाउने भएको छ।

हालका आईजीपी शैलेस थापा क्षेत्रीसँगै एआईजी बढुवामा कसरत गरेपनि अन्तिम समयमा थापा, हरि पाल र तारिणी लम्साललाई एआईजीमा बढुवा गरिएको थियो।

त्यसो त दोस्रो पटकको प्रयास पनि उनको असफल भएको थियो। गत असारमा निरज शाही र प्रद्युम्न कार्की एआईजी बढुवा भए।

उक्त निर्णयसँगै भावी आईजीपी डीआईजीबाट सिधै हुने र कडा प्रतिस्पर्धा हुने देखिएको थियो। जसमा सहकुल थापा र धिरजप्रताप सिंहलाई पनि सशक्त दाबेदारका रुपमा हेरिएको थियो।

एआईजीमध्येबाट आईजी बनाइने व्यवस्था अनुसार अब बन्ने एआईजी नै भावी आईजीपी हुनेछ।

हालका तीनै एआईजी आईजीपी थापाकै ब्याचका हुन्। उनीहरु २०७९ वैशाख १९ गते अवकास हुनेछन्। हालकै व्यवस्था कायम रहे पोख्रेल झण्डै एक वर्षका लागि आईजीपी बन्ने छन्।

२०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट पोख्रेलले सेवा सुरु गरेका हुन्। त्यतिबेला पोख्रेल पाँचौं नम्बरमा थिए। एसपी बढुवासम्म आफ्नो ब्याचीमध्ये पाँचौं नम्बरमै रहेका पोख्रेलले एसएसपी बढुवामा फड्को मारेका हुन्।

२०७४ साउन २९ गते हालका आईजीपी थापाकै ब्याचीसँगै एसएसपीमा बढुवा भएका थिए। त्यतिबेला दुई ब्याचका २४ जनालाई एसएसपी बढुवा गरिएकोमा पोख्रेल नवौं नम्बरमा थिए।

आफूभन्दा अघिल्लो ब्याचकालाई समेत त्यतिबेलै पोख्रेलले पछि पारे। उनीभन्दा अगाडि रहेका शैलेस थापा, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की अहिले पनि अगाडी छन् भने घनश्याम अर्याल डीआईजी बढुवामा पछि परे।

गणेशबहादुर ऐर र पुरुषोत्तम कंडेल अहिले पनि एसएसपीमै रोकिएका छन्। अरु भने एसएसपीमै उनीभन्दा तल्लो बरियतामा थिए।

तीमध्ये १० जना गत चैत २८ गते डीआईजीमा बढुवा भएका छन्। ती मध्ये अघिल्लो बरियताका चार जना आईजीपी थापासँगै २०७९ वैशाखमा अवकास हुनेछन्।

डीआईजी बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा र समग्रमा पाँचौ नम्बरमा फड्को मारेका सहकुल थापालाई पनि भावी आईजीका रुपमा हेरिएको थियो।

यस्तै भर्ती हुँदैदेखि पहिलो नम्बरमा रहेर एसपी बढुवाबाट पछि परेका धिरजप्रताप सिंह पनि संभावित आईजीका रुपमा थिए।

यी तीन मध्येबाटै आगामी आईजीपी हुने अनुमान गरिएपनि दरबन्दी थपले बाँकीको सपना पूरा नहुने देखिएको छ। अवस्था उही रहेको भएपनि पोख्रेल नै बलियो उम्मेदवार हुन्।

चार महिनापछि पूरा गर्‍यो सरकारले बचन
सरकारले गत असारमा नै पोख्रेललाई एआईजीमा बढुवा गर्न चाहेको थियो।

त्यतिबेला रिक्त रहेका दुई एआईजीमा सरकारको तर्फबाट पोख्रेल पर्ने लगभग पक्कै जस्तो थियो। तर आईजीपी थापा यसमा तयार देखिएनन्।

निरज शाही र प्रद्युम्न कार्कीलाई नै एआईजीमा बढुवा गर्नुपर्ने अवस्था उनले प्रधानमन्त्रीलाई सुझाए।

सिंगो प्रहरी संगठनको इच्छाविपरित निर्णय नगर्ने पक्षमा अन्तिम साँझ उभिएका प्रधानमन्त्री ओलीले पोख्रेललाई त्यतिबेलै बचन दिएका थिए।

अन्य विकल्प नहुनु र सरकारको उथलपुथलले जुनसुकै बेला असर गर्ने देखिएपछि सरकार दरबन्दी थप गरेर पोख्रेललाई अहिले नै अगाडि लैजान तयार भएको हो।

यस्तै उपत्यकाका केही युनिटमा डीआईजीको दरबन्दी रहने भएकाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआईजी आवश्यक रहेको भन्दै दरबन्दी थप गरिएको छ।

सरकारको यो निर्णयले भावी आईजीपी अनुभवी पाउने भएको छ। हाल बढुवा हुनेले डेढ वर्ष एआईजीका रुपमा काम गर्नेछन्।

नेपाल प्रहरीमा एआईजीमा लामो समय काम गरेर पोख्रेल आईजीपी हुने पक्का छ।

यसअघि डीएसपी हुँदा बानेश्वर वृत्त प्रमुख भएका पोख्रेलले एसपी छँदा कर्मचारी प्रशासन शाखा र मोरङ प्रहरी प्रमुखको रुपमा काम गरेका छन्।

उनले एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौं र डीआईजीमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
नेपाल खबर डटकमबाट