अर्को सफलता : अक्सफोर्डको भ्याक्सिन सुरक्षित भएको रिपोर्ट सार्वजनिक

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट छुट्कारा पाउनका लागि विश्वभरका वैज्ञानिकहरु विभिन्न उपायको खोजीमा लागिपरेका छन् । यसैबीच बेलायतबाट खुशीको खबर बाहिरिएको छ ।

अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको सफल नतिजा आएको एक रिपोर्ट सार्वजनिक भएको छ । दोस्रो चरणको परीक्षणमा सफल भएको खोप मानव परीक्षणमा पनि सफल भएको दावी गरिएको छ ।

अन्तिम परीक्षणको पूर्ण नतिजा सार्वजनिक नभएपनि सार्वजनिक अध्ययन रिपोर्टअनुसार अक्सफोर्डको खोप ९९ प्रतिशत सफल भएको दावी गरिएको छ । यसअघि फाइजर र मोडेर्नाले आफ्नो खोप सफल भएको दावी गरिसकेका छन् ।

मोडेर्नाको खोप र फाइजर र बायोएनटेकले तयार गरेको खोप पनि ९० प्रतिशतभन्दा बढी सफल रहेको दावी गरिएको थियो । अक्सफोर्डको खोप ६० वर्षमाथिका व्यक्तिमा पनि इम्युनिटी बढाउन सफल रहेको दावी गरिएको छ ।

दोस्रो चरणको परीक्षणमा अक्सफोर्डको खोपको कुनैपनि साइड इफेक्ट देखिएको थिएन । बेलायतले यो खोपको १ सय मिलियन डोजको अग्रिम खरिद सम्झौता गरिसकेको छ ।

दोस्रो चरणको परीक्षणमा बेलयतका ५ सय ६० जना सहभागि थिए । जसमध्ये अधिकांश गोरा जातीका रहेका थिए । उक्त परीक्षणबाट ५५ वर्षभन्दा कम उमेरका व्यक्तिमा यो खोप पूर्ण सफल रहेको नतिजा रहेको थियो ।

अक्सफोर्डको भ्याक्सिनका विषयमा ब्रिटिश सोसाइटी फर इम्युनोलोजीका प्रमुख प्रोफेसर डेबोराह डन वाल्टर्सले खुशीको खबर भएको प्रतिक्रिया दिएकी छन् । उनले परीक्षणको नतिजाले प्रोत्साहन गरेको बताएकी छन् ।