कार निर्माता कम्पनी भोल्भोले नयाँ १० कार सय फिट माथीबाट खाल्डोमा खसाल्यो 

एजेन्सी । एक विश्वविख्यात कार निर्माता कम्पनीले आफ्ना १० वटा नयाँ कारहरुलाई धमाधम सय फिट भन्दा माथीको उचाईबाट खाल्डोमा फालेको छ ।

यो अचम्मको घटनालाई ग्राहकहरुको सुरक्षाका लागि गरीएको एक प्रयोग भनिएको छ । यो प्रयोग विश्वप्रसिद्ध कार उत्पादक कम्पनी भोल्भोले गरेको हो ।

‘कार क्र्यास टेस्ट’ भनिएको यो प्रयोगबाट खतरनाक भन्दा खतरनाक दुर्घटनाहरुबाट मानिसहरुको सहज उद्धार कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी संकलन गरिने भोल्भो कम्पनीले जनाएको छ ।

यसबाट उद्धार कार्यमा संलग्न उद्धारकर्मीहरुलाई उद्धार रणनीति बनाउन सहयोग पुग्ने बताइएको छ । सामान्यतया तालिमका लागि उद्धारकर्मीहरुलाई २० बर्ष पुराना गाडीहरु दिइन्छ । तर यहाँ भोल्भो कम्पनीले भर्खरै उत्पादन गरिएका नयाँ कारहरु दिएको छ ।

ईमरजेन्सी सर्भिसका लागि कंपनीले नयाँ प्रविधिको विकास गर्न लागेकाले यस्तो प्रयोग गरिएको भोल्भोले जनाएको छ ।

अत्यन्तै खतरनाक र घातक दुर्घटनामा फँसेका मानिसहरुको सहज उद्धार गर्नका लागि नियमित क्र्यास टेस्ट पर्याप्त नभएकाले ठूला ठूला क्रेनको प्रयोग गरि सय फिटभन्दा माथीको उचाईबाट कारलाई खाल्डोमा फाल्ने प्रयोग गरीएको भोल्भो कम्पनीले जनाएको छ ।

यो प्रयोगबाट सडक दुर्घटनामा परेकाहरुलाई तत्काल गाडीबाट निकाल्ने र तुरुन्तै अस्पताल पठाउने विषयमा रणनीति बनाउन सघाउ पुग्ने कम्पनीले जनाएको छ ।

गम्भीर प्रकृतिका दुर्घटनामा कम भन्दा कम क्षती होस भन्ने विषयमा पनि यो प्रयोग केन्द्रित रहेको छ ।

‘कार क्र्यास टेस्ट’ बाट प्राप्त हुने रिपोर्टका आधारमा बनाइने रणनीति बारे उद्धारकर्ताहरुलाई पनि प्रशिक्षण दिइने युरो साप्ताहिकले जनाएको छ ।