नेपालीलाई भारत जान रासनकार्ड, भारतीय आउन पीसीआर अनिवार्य

काठमाडौं : नेपालको पश्चिमी नाका भएर भारत जाने नेपालीलाई भारतीय प्रशासनले अनिवार्य रासनकार्ड हेरेर मात्रै प्रवेश अनुमति दिएको छ ।

गड्‍डाचौकी नाका भएर भारत जाने नेपालीहरुसँग भारतीय रासनकार्ड भए मात्रै उनीहरुलाई प्रवेश अनुमति दिइएको हो । गड्‍डाचौकी नाका भएर दैनिक सयौं नेपाली भारतका विभिन्‍न स्थानमा मजदुरीका लागि जाने गर्छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासीनीले बाह्रखरीसँग भने, “भारत जाने नेपाली रासनकार्ड नभए जान पाउँदैनन् । त्यसैले अहिले रासनकार्ड भएका मात्रै गइरहेका छन् ।” भारतमा रोजगारी गर्ने सबै नेपालीसँग रासनकार्ड भने छैन । रासनकार्ड नहुँदा कतिपय नेपाली भारत फर्किन पाएका छैनन् ।

भारतीय सीमामा त्यहाँको प्रशासनले स्वास्थ्यजाँचसमेत गर्दै आएको छ । शंकास्पदको सीमामा स्वाब संकलनसमेत हुँदै आएको छ ।

यस्तै भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई समेत नेपाली प्रशासनले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट लागु गरेको छ । तर नेपाली नागरिकका हकमा भने पीसीआर अनिवार्य गरिएको छैन । तर भारतबाट स्वदेश फर्किने नेपाली नागरिकलाई सीमाबाटै सोझै गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । उनीहरुलाई सीमाबाटै कुन जिल्लाका हुन सोही जिल्ला पठाउने व्यवस्था मिलाइएको एसपी मरासिनीले बताए ।

उनले भने, “कञ्चनपुरबाहेक अन्य जिल्लाका नागरिक भए उनीहरुलाई सीमामै होल्ड गर्छौं । उनीहरुलाई किनमेलमा पनि रोक लगाएका छौं । सीमामै उनीहरुलाई लिन बस पुग्छ । उनीहरु कुन जिल्लाका हुन् त्यसबारे हामी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउँछौं ।”

तर कञ्चनपुरकै नागरिकका हकमा भने त्यसो गरिएको छैन । भारतका विभिन्न स्थानबाट आउन कञ्चनपुरका स्थानीयलाई भने सीमामा रोकेर महेन्द्रनगरस्थित होल्डिङ सेन्टरमा पुर्‍याइने गरिएको छ । त्यहाँ स्वास्थ्य जाँच गर्ने र क्‍वारेन्टिनमा राख्नुपर्ने भए त्यसको समेत व्यवस्थापन गरिएको छ । त्यहाँ रहनेलाई खानपिनको व्यवस्थापन भीमदत्त नगरपालिकाले गर्दै आएको छ ।

यस्तोमा सम्बन्धित स्थानीय तहको सिफारिसमा होम क्‍वारेन्टिनमा बस्‍ने व्यवस्था मिलाइएको एसपी मरासिनीले बताए । भारतमा कोरोना महामारीको उच्च जोखिम छ । जोखिमका बीच पनि जीविकोपार्जनको बाध्यताका कारण दैनिक सयौं नेपाली भारत पस्‍न बाध्य छन् ।