बढेन तराईमा छठको रौनक, सुनसान घडिअर्वा पोखरी

 

वीरगञ्ज : तराई क्षेत्रमा मनाइने छठ पर्वमा यो पटक अघिल्ला वर्षहरुमा जस्तो रौनकता देखिएको छैन । कोरोना महामारीका कारण तराईका अधिकांश स्थानमा पर्वको समयमा पनि सुनसान कायम छ भने केही भागमा सामान्य चहलपहल मात्रै देखिएको छ ।

महामारीको सन्त्रासका कारण छठ मनाउन घाट नगइ घरको छतमै पर्व मनाउन स्थानीय बाध्य छन् । संक्रमण जोखिम कायम रहेकै अवस्थामा छठ मनाउन नै नपाइने हो की भन्ने चिन्तामा रहेका तराई बासीलाई सुरक्षित तरिकाले पर्व मनाउन सरकारले दिएको निर्देशनले केही खुशी थपे पनि बिगतमा जस्तो उत्साह नदेखिएको हो ।

विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्व बुधबारदेखि विधिवत् शुरु भइसकेको छ । तराईको साझा संस्कृति र पहिचानको रुपमा मनाइने यो पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई ४ दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर कोरोना महामारीले गर्दा यस वर्षको छठ पूजा भव्य रुपमा मनाउन भने प्रशासनले रोक लगाएको छ । जसबाट छठ पर्वको तयारी पनि प्रभावित बनेको पाइएको छ ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै काठमाडौं उपत्यकासहित तराइ र मधेशका जिल्लाहरुमा पनि स्थानीय प्रशासनले नदी, ताल, तलाउ र पोखरीमा छठ मनाउन प्रतिबन्ध लगाएको छ ।

सुनसान घडिअर्वा पोखरी

वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरीमा भव्य रुपमा छठ पर्व मनाउने गरिन्थ्यो । घडिअर्वा पोखरीको छठ पूजा हेर्न देश/विदेशबाट समेत भक्तजन आउने गर्थे । तर यसवर्ष महामारीका कारण छठ पूर्ण रुपमा प्रभावित भएको देखिएको छ ।

महामारीकै कारण वीरगञ्जमा यस वर्ष छठको तयारी फितलो देखिएको छ । लाखौं खर्च गरेर छठघाटलाई सजावट गर्ने गरिएकोमा यो पटक छठघाट व्यवस्थापन समितिले त्यसो गरेको छैन । देशभरमै आकर्षक सजावट हुने घडिअर्वा पोखरीमा यस वर्ष कुनै विशेष तयारी गरिएको देखिएन । सजावटमा १५ लाखको हाराहारीमा खर्च गरिने घडिअर्वा छठघाटमा सरसफाइ र बत्ती लगाउनका लागि यो पटक जम्मा डेढ–दुई लाख मात्रै खर्च गरिएको छ । रक्तदान, चिठ्ठा कार्यक्रम र पण्डाल लगाउने लगायतका गतिविधि पनि स्थगित गरिएका छन् ।

प्रशासनले छठघाटमा धेरै समय नबस्न र भौतिक दुरी कायम गरी पालैपालो सूर्यलाई अर्घ दिन र छठघाटमा ठेलामा वा भुँइमा कुनै किसिमका सामान बिक्री नगर्न पनि अनुरोध गरेको छ । हरेक ब्रतालुका लागि छठघाटमै १/१ थान मास्क वितरण गर्ने तयारी गरिएको वीरगञ्ज– १३ का वडाअध्यक्ष तुफा फारुक अन्सारीले जानकारी दिनुभयो ।

छठ सामान्य मानिसले साधारण तरिकाले मनाउन सक्ने पर्व भएकाले सजावट र तडकभडक जरुरी नभएको संस्कृतविद्हरुको भनाइ छ । चाडबाडको निहुँमा महँगा गहना र लुगा लगाउने, झिलिमिली बनाउने र पण्डाल लगाउने प्रचलन देखिएको भएपनि छठी माता गरिब र साधारण मानिसकी देवी भएकाले साधारण गृहस्थको लागि पूजा गर्ने, शुद्ध हुने र सामान्य कपडा लगाएर पनि मनाउन सकिने उनीहरुको राय छ ।