सौराहाको पर्यटन: न दसैंमा जम्यो न तिहारमा !

 

ध्रुवराज खनाल, चितवन : कोरोना भाइरस संक्रमणका कारण अझै एक डेढ बर्ष पर्यटन ब्यवसायले गति लिने अवस्था छैन । चैत देखि हाल सम्म मुलुकका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल शुन्य जस्तै छ ।

देशको तेस्रो पर्यटकीय गन्तव्य सौराहा पनि बिगत ८ महिना देखि सुनसान छ । दसैं र तिहारमा केही चहलपहल बढ्ने यहाँका ब्यवसायिको आशा थियो । तर त्यसको बिपरितनै रह्यो । अघिल्लो बर्ष आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने सौराहामा यस बर्षको न त दसैं न तिहारमा त्यस्तो माहोल भयो ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई दसैं तिहारमा आन्तरिक पर्यटकको चहलपहल हुने आश गरिए पनि सिमीत मात्र पर्यटक आएको बताउँछन् । ‘दसैं तिहारमा आन्तरिक पर्यटकको चहलपहल हुन्छ कि भन्ने थियो,’ संघका अध्यक्ष भट्टराईले भने- ‘नगन्य मात्रामा मात्रै पर्यटकहरु सौराहा आए । बन्यजन्तुको राम्रो बासस्थान रहेको चितवन निकुञ्जकै कारण सौराहा बिश्वमा चिनिएको छ ।’

रेस्टुरेन्ट एण्ड वार एसोसिएसन सौराहाका संस्थापक अध्यक्ष बलराम दहालले टांडी, पर्सा, भण्डाराबाट मात्र पर्यटक आएको बताए । जिल्लामा पर्यटकिय क्षेत्र बिस्तार हुनु पनि सौराहामा पर्यटकको चहलपहल कम भएको उनको दाबी छ । ‘जिल्लाको अन्य क्षेत्रमा पर्यटकीय क्षेत्र बिस्तार हुँदै गएको छ,’ रत्ननगर ६ का वडा अध्यक्ष समेत रहेका एसोसिएसनका सस्थापक अध्यक्ष दहालले भने- ‘अहिले घाटामा ब्यवसाय चलेको छ ।’

कोरोना भाइरसका कारण अझै एक डेढ बर्ष चहलपहल नहुने उनको बुझाइ छ । डेढ बर्ष टिक्न सके ब्यवसाय रहने नत्र धेरै जना यो क्षेत्रबाट पलायन हुने दहालको दाबी छ । दसैं तिहारमा टीका नभएका ,पारिवारिक भ्रमण गर्ने सौराहा आउने गर्छन् । सौराहामा जंगल सफारी, हात्ती सफारी, जिप सफारी, बन्यजन्तु अबलोकन, थारु समुदायको संस्कृति अबलोकन लगायत हेर्न पाइन्छ ।

तिहारको टिकाको अघिल्लो दिन बुटवलबाट सौराहा पारिवारिक भ्रमणमा आएकी अर्पना खनालले जिप सफारी मार्फत मनोरञ्जन लिएको बताइन् । सौराहामा झन्डै १२० वटा होटल तथा ७० भन्दा बढी रेस्टुरेन्ट छन् । सौराहाको पप साइटमा भेटिएको उनको समूह बाहेक दुई चार वटा समुहलाइ मात्र हामिले देख्ने मौका पायौ ।

कोरोना भाइरस संक्रमणको डरले गर्दा जिल्ला भित्रकै पन आन्तरिक पर्यटक नआएकाले जिल्लाबाहिर बाट आउछन् भन्ने अवस्था छैन । स्वास्थ्य मापदण्ड अपनाएर यहाँका ब्यवसायीले पर्यटकीय गतिविधिलाई चलायमान बनाउनु पर्छ अनि सरकारले पनि पर्यटन ब्यवसाय टिकाउने गरि योजना ल्याउन आवश्यक छ ।