घोडाघोडी तालमा आइपुगे २९ प्रजातिका पाहुना चरा

धनगढी । हरिहाँसका लागि प्रसिद्ध कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन् ।

उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी घोडाघोडी ताल क्षेत्रमा आइपुगेका हुन । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा यहाँ आइपुग्ने गरेका छन् । पाहुना चराको चिरबिर, चिरबिर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ ।

जलपक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले बताए । ‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ’, उनले भने ।
घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन् । यो वर्ष अहिलेसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँडे टिमटिमा आइपुगेका छन् । ‘जाडो याममा देखिने पाहुना चराहरु धेरै आइसके’, चराविज्ञ डङ्गौराले भने । ‘अझै आउनेक्रम जारी नै रहेको छ ।’

सुदूरपश्चिम प्रदेशकै गहनाको रुपमा रहेको घोडाघोडीमा ६४ प्रजातिको जलपक्षी पाइने गरेका छन् । जसमध्ये केहि रैथाने हुन भने जाडो सिजनमा बसाइँ सरेर आउने चराहरु विभिन्न देशबाट आएका हुन । बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख रहेको प्रजाति हो ।
‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डङ्गौरा भन्छन्, ‘त्यहाँ अत्यधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै कैलालीको घोडाघोडी सिमसारसम्म आइपुग्ने गर्दछन् ।’

यहाँ आएका आगन्तुक जलपङ्क्षी फागुन मसान्त (ण्मार्च पहिलो दोस्रो साता) सम्म रहने गरेको बताइएको छ । गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि उतै फर्किने गरेका छन् । हिउँदे आगन्तुक चराको चहलपहल, पानीमा खेलेको दृश्यले घोडाघोडी ताल अवलोकन गर्नेहरुलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

घोडाघोडी सिमसार क्षेत्रमा ३४२ प्रजातिको चरा पाईन्छन् । यहाँ चराहरुको अवस्था सुधारोन्मुख रहेको डङ्गौराले बताए । ‘नयाँ–नयाँ प्रजाति थपिदैं गएका छन्’, उनले भने । (गोरखापत्र)