चितवन मेडिकल कलेजमा अनौठो दृश्य, बेडमा नै बिरामीले लगाए तिहारको टीका

चितवन । चितवन मेडिकल कलेजले बिरामीहरुलाई भाईटिका लगाइदिएको छ । नेपालीहरुको दोस्रो महान चाड तिहारको अबसरमा कलेज प्रशासनको व्यवस्थापनमा भाइटिका लगाइएको हो । बिरामीको मनोबल उच्च बनाउन नर्सहरुले बिरामीलाई भाइटिका लगाइदिएका कलेजका कार्यकारी प्रमुख प्रताप देवकोटाले बताए । उनका अनुसार अस्पतालमा काम गर्ने नर्स र उपचार गराइरहेका बिरामीलाई खल्लो नहोस भनेर भाइटिकाको कार्यक्रम गरिएको हो । स्वास्थ सुरक्षाका मापदण्ड अनुरुप अस्पतालले सामजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको अस्पतालका प्रवन्ध निर्देशक प्रोफेसर डाक्टर हरिश चन्द्र न्यौपानेले जानकारी दिए । अस्तपालमा नर्सिङ अफिसर अंकिता कुँवर, अर्चना सेढाई, नर्स कर्मचारी सुस्मा गुरुङ, समिना मियाले बिरामीलाई भाइटिका लगाइदिएका हुन । भाइटिका ग्रहण पश्चात् भरतपुर २८ का कृष्ण पोख्रेलले आफू अस्पताल मै रहे पनि टीका ग्रहण गर्न पाउँदा घरमै रहेको जस्तो अनुभुती भएको बताए । उनले जिवनको एउटा अविस्मरणीय पलको लागि अस्पताललाई धन्यवाद दिए । त्यस्तै अर्का बिरामी भरतपुर १० का मधुकर लामा बेडमा नै टीका लगाउन पाउँदा दङ्ग थिए । उनले भाइटिका ग्रहण गर्न पाउँदा हर्सित भएको बताए । नर्सहरुले बिरामीको बेडमा नै पुगेर टीका लगाइदिएका थिए । कलेजले विगतका बर्ष पनि दशै तिहारमा टीका लगाउने कार्यक्रम गर्दै आएको थियो ।