ओलीलाई वामदेवको जवाफ– प्रचण्ड हाेइन , पहिला तपाईं सच्चिनुस्

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर ओलीले गौतमलाई प्रचण्डको एकल प्रस्ताव फिर्ता लिन सहयोग गर्न आग्रह गरेका हुन् ।

जवाफमा गौतमले ओलीलाई सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्दै स्वेच्छाचारी प्रवृत्ति त्याग्न आग्रह गरेका थिए । ओलीले आफूलाई अफ्ठ्यारोमा साथ दिँदै आएको भन्दै पुनः एकपटक सहयोग गर्न भनेका थिए । गौतमले भने पहिला कार्यशैली सुधार गर्न सुझाएका थिए ।

सचिवालय बैठकमै आफ्ना कुरा राख्न भन्दै गौतमले सरकार पार्टीको मार्गनिर्देशन, नीति र घोषणाअनुसार चलाउन भनेका थिए । “पहिला आफ्नो स्वेच्छाचारिता सच्चाउनुस् अनि मात्रै प्रस्ताव फिर्ता लिने-नलिने भन्ने विषयले प्रवेश पाउँछ,” वामदेवलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विश्‍वमणि सुवेदीले भने, “भेटमा प्रधानमन्त्रीले क. वामदेवलाई मन्त्रालय रोजेर सरकारमा आउन आग्रह गर्नुभयो ।” जवाफमा गौतमले पहिला कार्यशैली सच्याएर अगाडि बढ्न आग्रह गर्दै सरकारमा जाने निर्णय बैठकबाट गराउन भने ।

सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिस्ट हुन नसक्ने भन्दै गौतम बालुवाटारबाट बाहिरिएका थिए ।