स्वास्थ्य राज्यमन्त्रीसँग पितौजीका लागि एक्सरे मेशीन र जनशक्तिको माग

डोलराज रानाभाट, कार्तिक २९ । गैँडाकोट नगर अस्पतालको रुपमा प्रस्ताव गरिएको पितौजीघाट स्वास्थ्य चौकी गैंडाकोट ११ का लागि तत्काल एक्सरे मेशीन र जनशक्तिको व्यवस्थापन गरिदिन माग गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँग तत्काल यी दुई व्यवस्थापन गरिदिन आग्रह गरिएको गैंडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले विजय एफएमलाई जानकारी दिनुभयो ।

आज प्रस्तावित नगर अस्पतालको निरीक्षणका क्रममा राखिएका उक्त माग जायज रहेको र सरकारको नीति अनुसार मिलेसम्मको व्यवस्थापन गर्ने राज्यमन्त्री रावतको भनाई थियो । एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार १८ करोडको लागतमा १५ बेडको अस्पताल बन्ने भन्दै उहाँले भवन निर्माणपश्चात सेवा सुचारुका लागि सवै व्यवस्थापन गर्ने बताउनुभएको थियो । तर प्रस्तावित गैंडाकोट नगर अस्पताल संचालनका लागि भने तत्काल साविकको भवन नै पर्याप्त रहेको र अहिले नयाँ बनाइएको कोठा समेत तयार भएकाले प्रविधि र जनशक्ति मात्रै उपलब्ध गराएपनि अस्पतालका सेवा संचालन गर्न सकिने वडाअध्यक्ष सुवेदीको भनाइ छ ।

नयाँ भवन पनि वन्दै जाने र अहिले साविककै भवनबाट अस्पतालकै सेवा दिन सकिने भएकाले एक्सरे मेशीन र जनशक्ति व्यवस्थापनलाई जोड दिइएको सुवेदीले बताउनुभयो ।
त्यही अनुसार राज्यमन्त्रीलाई आज स्थलगत निरीक्षण सहित आवश्यक अन्य मागहरु पनि राखिएको वडाअध्यक्ष सुवेदीको भनाई छ । सम्वोधनका क्रममा राज्यमन्त्री रावतले भौतिक संरचना र जग्गा पर्याप्त देखिएकाले १५ बेड भन्दा माथिकै अस्पताल बन्नुपर्ने भएपनि विकासमा पछि परेको भन्दै आफूले मन्त्रालयबाट हुन सक्ने सहयोगका लागि पहल गर्ने बताउनुभयो ।

विस २०३० सालमा स्थापना भएको हेल्थ पोष्टले साविक १० वटा गाविसका जनतालाई सेवा दिइरहेको छ । अहिले एक जना डाक्टर सहितले सेवा दिँदै आउनुभएको छ । नगरप्रमुख छत्रराज पौडेलले १५ बेडका लागि नेपाल सरकारले विनियोजित गर्ने १८ करोड मध्ये १ करोड बजेट आएको र भवनको डिपिआर तयार भइसकेकाले छिट्टै टेण्डर गर्ने बताउनुभयो ।

अवको ३ वर्षभित्र भवन निर्माण सकेर नयाँ भवन मार्फत अस्पतालका थप व्यवस्थित र स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो । साथै प्रस्तावित अस्पताललाई मन्त्रीपरिषदको निर्णयले चाँडै अस्पतालकै रुपमा स्वीकृत गरिदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल, नेकपा केन्द्रीय सदस्य रविन्द्र अधिकारी, वडाअध्यक्षहरु, नेकपाका नेताहरु, स्थानीय, स्वास्थ्यकर्मीहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा याम बहादुर क्षेत्रीले सहजीकरण गर्नुभएको थियो ।