वागीश्वरीमा गरियो सामुहिक गाई पूजा

चितवनः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ वागीश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा सामुहिक गाई पूजा गरिएको छ । गौ संरक्षण केन्द्रमा प्रत्येक वर्षको लक्ष्मी पूजाको दिनमा सामुहिक गाई पूजा हुने गर्दछ ।
कोभिड–१९ को संक्रमण त्रासका कारण यसवर्ष भने औपचारिक रुपमा गाई पूजा गरिएन । गौ संरक्षण केन्द्रमा अनौपचारिक रुपमा नै गाई पूजा गरिएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष रामप्रसाद वस्तीले बताउनुभयो । नेपाल धर्म र संस्कृतिमा धनी रहेकाले हाम्रो मौलिक संस्कृति संरक्षण गर्नका लागि समेत सामुहिक गाई पूजा गरिएको वस्तीको भनाइ छ ।
वागीश्वरीमा २०४९ सालमा ६ वटा स्थानीय जातका गाई राखेर सुरु गरिएको संरक्षण कार्यमा हाल १८० वटा स्थानीय जातका गाई संरक्षण गरिएको छ । विभिन्न ठाउँमा छाडा छोडिएको स्थानीय जातको गाई ल्याएर संरक्षण गरिने गरेको वस्तीले बताउनुभयो । वागीश्वरीमा गाई पूजासँगै सामूहिक गोर्वद्धन पूजा समेत गरिएको छ ।
गोर्वद्धनको पहाड नै बनाएर सामूहिक रुपमा गोवद्र्धन र गाई पूजा गरिएको हो । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा यहाँ हरेक वर्ष सामूहिक गोवद्र्धन पूजा गरिंदै आएको छ । गाई संरक्षणका लागि ट्रष्ट स्थापना गरेर विभिन्न व्यक्तिले सहयोग गरेका छन् ।