कोरोना भाइरसलाई संक्रामक बनाउने खतरनाक जीन पत्ता लाग्यो

एजेन्सी । कोरोना भाइरसको विश्वब्यापी महामारी जारी रहेका बेला मानव समाज पीडित त भएको छ नै, यही संकटका बीच थुप्रै उपलब्धीहरु पनि हाँसिल भएका छन । कोरोना संक्रमण महामारीले हाम्रो जीवनशैली परिवर्तन गरिदिएको छ । त्यस्तै वैज्ञानिक अध्ययनको क्षेत्रमा पनि थुप्रै प्रगतिहरु भएका छन ।

यही सन्दर्भमा अमेरिकी वैज्ञानिकहरुले अहिलेसम्म नभेटिएको सफलता हात पारेका छन । उनीहरुले कोरोना भाइरसलाई संक्रामक बनाउने र अन्य जीवको रोग प्रतिरोधी क्षमतालाई ध्वस्त पार्न सफल बनाउने जीन पत्ता लगाएका छन । अर्थात वैज्ञानिकहरुले पत्ता लगाएको यो जीन नै कोरोना भाइरसको मुख्य अस्त्र हो ।

यो जीन अहिलेसम्म पत्ता नलाग्नुका कारण यो जीन कोरोना भाइरसको जीन भित्र लुकेर बसेको थियो । अर्थात जीन भित्र जीन लुकेर बसेकाले यस तर्फ बैज्ञानिकहरुको ध्यान जान सकेको थिएन । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरुले कोरोना भाइरसको जीन भित्र लुकेर बसेको अर्को खतरनाक जीन पत्ता लगाएका हुन ।

वैज्ञानिकहरुका अनुसार अहिलेसम्म कोरोना भाइरसको जिनोममा रहेका १५ थरिका जीनहरुको पहिचान भैसकेको छ । यसबाट कोरोना भाइरसविरुद्धको अचुक खोप बनाउन सहयोग पुग्नेछ । यो अध्ययनको रिपोर्ट हालै जर्नल ई–लाइफमा प्रकाशित भएको छ ।

रिपोर्टमा वैज्ञानिकहरुले जीन भित्र जीन रहेको उल्लेख गरेका छन । यो जीनको नाम हो– ORF3d । यसले कोरोना भाइरसको प्रोटिनलाई अधिक मात्रामा बृद्धि र विकास गर्न सघाउँछ । यो जीनले कोरोना भाइरसलाई संक्रमित मानिसको शरीर भित्र अन्य थुप्रै भाइरसहरु जन्माउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वैज्ञानिकहरुको ठहर छ ।

अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा कार्यरत वैज्ञानिक तथा अध्ययन रिपोर्टका लेखक चेस नेलसनले भाइरस भित्र भेटिएको यो ORF3d जीन कोरोना भाइरसको हतियार हुन सक्ने बताए । उनले भने, “भाइरसको जीन भित्र भेटिएको यो अर्को ORF3d जीन कोरोना भाइरसको महत्वपूर्ण हतियार हुन सक्छ । यसले थुप्रै भाइरसहरु जन्माउन सहयोग गर्छ । अनि यसले संक्रमित मानिसको रोगप्रतिरोधी क्षमतालाई निशाना बनाएर प्रहार गर्छ ।”

उनका अनुसार जीन भित्र जीनको उपस्थिति र त्यसको कार्यशैलीका बारेमा प्राप्त भएको यो जानकारीले कोरोना भाइरसलाई नियन्त्रित गर्ने नयाँ तरिका पत्ता लगाउने बाटो खुलेको छ । यसबाट कोरोना भाइरसविरुद्धको खोप बनाउन सहयोग मिल्ने साइन्स अलर्टमा उल्लेख छ ।