कांग्रेस चीन नीतिमा अडिग

ललितपुर :  बीपी कोइरालाको समयदेखि लिँदै आएको चीनसँगको नीतिमा कांग्रेस अडिग रहेको जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो कुरा स्पष्ट गरेको हो । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि कुनै पनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लङ्घनको विपक्षमा कांग्रेस सधैं अडिग छ र अडिग रहने बैठकले स्पष्ट गरेको छ । बैठकले चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लेखमा कांग्रेसलाई भारत परस्त पार्टीको रूपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको भनी अफवाह फैलाएको आरोपसमेत लगाएको छ ।
यस्तै, नेपाल स्थित चिनिया दुतावासले नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएको छ । यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसलाई आधारहीन आरोप भन्दै लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको जनाएको छ ।

कर्णाली प्रदेश विपक्षी दलका नेता जीवनबहादुर शाहीसहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग पनि गरिएको छ । गोरखापत्रमा समाचार छ ।