सम्पादकीय : ट्रम्प पराजयको सन्देश

भरखरै मात्रै अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएको छ । नेपालमा अमेरिका सधैँ चर्चामै रहने गर्छ । अमेरिकीले नेपालबारे कम जानकारी राखे पनि नेपालीहरु अमेरिकाप्रति बढी नै चासो राख्छन् । साम्राज्यवादी शक्तिको रुपमा अमेरिका नेपालमा चर्चामा आउँछ । केही दिन अगाडि मात्रै अमेरिकामा राष्ट्रपतिको निर्वाचन भयो । जहाँको भए पनि चुनाव लाग्नु नेपालीको विशेषता हो । पछिल्लो अमेरिकी राष्ट्रपतिको चुनाव यहाँका चियापसलको चुस्की बन्यो भने भव्य डिनरहरुमा सितनको रुपमा प्रवेश पायो । अमेरिकामा रहेका नेपालीहरु स्वभावतः विभाजन नचाहने र आप्रवासीप्रति उदार मानिएका पूर्वउपराष्ट्रपति जो वाइडनप्रति झुकाव राख्थे । धेरै नेपालीले त्यही बाटो रोजे र आफूलाई वाइडनको पक्षमा उभ्याए । जो वाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । वहालवाला राष्ट्रपति डोनाल्ड ट्रपलाई हराउँदै वाइडेनको इटहाउस यात्रालाई संसारभर विभिन्न कोणबाट व्याख्या गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको ४ वर्षे कार्यकाल विवादै–विवादले जेलिएको थियो । अमेरिकी गोराहरुको प्रतिनिधित्व गर्ने विभाजनको राजनीति गर्थे, उनी गोरा समूहका नेता थिए अनि अमेरिकालाई बलियो बनाउने नीतिको वकालत गर्थे । अमेरिकाभन्दा बाहिर संसार नै छैन भन्ने उनी अन्धराष्ट्रवाद, अतिवाद तथा सङ्कीर्णता रुचाउँथे । विभाजनको रेखा कोर्ने तथा आप्रवासीप्रति अनुदार ट्रम्प आफ्ना अभिव्यक्तिले विश्व तरङ्गित पार्थे । विश्व स्वास्थ्य सङ्गठनको अस्तित्व अस्वीकार गर्नेदेखि जलवायू परिवर्तनसम्बन्धि सम्झौताबाट पर हट्ने उनको निर्णय आलोच्य थियो नै, आन्तरिक व्यवस्थापनमा पनि उनी कमजोर देखिए । खासगरि कोरोना महामारी रोक्ने सवालमा उनी चुक्न पुगे । विज्ञानले प्रमाणित गरेका तथ्यहरुलाई आफू अनुकूल व्याख्या गर्न र त्यसलाई चुनौति दिन पनि उनी चुकेनन् । जसले गर्दा उनी जनतामाझ अलोकप्रिय ठहरिए । आप्रवासी कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका वाइडेनले ट्रपको यही कमजोरीमाथि प्रहार गरे । उनले विभाजित अमेरिकी समाजबाट घृणालाई पर हटाउने उद्घोष गरे अनि चुनावमा स्पष्ट बहुमत प्राप्त गरे ।
अमेरिकामा जो राष्ट्रपति आए पनि विदेश नीतिमा खासै परिवर्तन हुँदैन । अमेरिका आफूलाई सधैँ शक्तिराष्ट्र मान्छ र उसका नीतिहरु त्यही अनुरुप निर्देशित हुन्छन् । तर, आप्रवासीप्रति हेर्ने दृष्टिकोण, जलवायु परिवर्तनसम्बन्धी मुद्दालगायतका निर्णयहरुले नेपाललाई पनि प्रभावित पार्छ । सहयोगको निरन्तरता एकातिर छ भने अमेरिकी चुनावले विश्व राजनीतिमा दिएको सन्देश अर्को महत्वपूर्ण छ । अतिवाद, दक्षिणपन्थी राष्ट्रवाद तथा निषेधको राजनीतिमाथि अमेरिकी चुनावले ठूलो झापट दिएको छ । सिङ्गो विश्व लोकप्रियतावाद, जातिवाद र अन्ध राष्ट्रवादले गाँजिएको बेला ट्रम्पको हारले दक्षिण एसिया तथा नेपाललाई पनि ढिलोचाँडो प्रभावित भने गर्ने नै छ । अतिवादलाई जनताले स्वीकार गर्दैनन् भन्ने कुरा अमेरिकी जनताले समेत प्रमाणित गरिदिएका छन् । अमेरिकी निर्वाचनको मत परिणामबाट नेपालका नेताले पनि केही सिक्नुपर्ने बेला आएको छ ।