हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी छ : मन्त्री गुरुङ

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गुरुङले प्राचिन समयमा सञ्चारको एक मात्रै विश्वसनीय माध्यमको रुपमा रहेको हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका हुन् । बु

धबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको हलमा आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी अघि बढने पनि स्पष्ट पारे । त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना लिएर आउन विभागका पदाधिकारीहरुलाई मन्त्री गुरुङले आग्रह गरे ।

‘हुलाक सेवा प्राचीन समयको सबैभन्दा भरपर्दो सञ्चार माध्यम हो,’ मन्त्री गुरुङले भन्नु भयो,‘यसको सेवालाई बदलिँदो राष्ट्रिय÷अन्तराष्ट्रिय परिवेश अनुसार भरपर्दो र विश्वसनीय बनाउन आवश्यक छ ।’

उनले हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्दै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिए ।

त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री गुरुङको भनाई छ । उहाँले हुलाक सेवालाई युग सुहाउँदो बनाउन आवश्यक भौतिक पूर्वाधार, मानव संशाधनको विकासमा जोड दिनुुपर्ने पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले नेपालमा हुलाक सेवा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि नयाँ रणनीतिक योजनाका साथ अघि बढने संकल्प गरे । उनले निजी क्षेत्रबाट संचालित कार्गो सर्भिसलाई व्यवस्थित बनाउन लागिपर्ने बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक सेवालाई सुदृढ बनाउने गरी अघि बढन हुलाक सेवा विभागलाई आग्रह गरेका थिए भने विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाक सेवा विभागको कार्ययोजनाबारे मन्त्री गुरुङलाई जानकारी गराउनु भएको थियो । आजै मन्त्री गुरुङले मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र सुरक्षण मुद्रण केन्द्रबारे पनि जानकारी लिएका थिए ।