पिसिआर रिपोर्ट पर्खिरहेको मानिस

कविता

ऊ बिरामी होइन
बिहान स्वाब दिएर आए पछि
उसलाई बिरामी जस्तो देखिएको छ
हल्का छाती दुखे जस्तो लाग्छ
घाटीमा केहि अल्झिए जस्तो लाग्छ
लाग्छ नाक थुनिएँ जस्तो
ऊ स्वस्थ छ
र पनि निराश छ
उदाश छ
छिनछिनमा घडी हेरिरन्छ
मनस्थिति सारै नै हतास छ
सोच्ने पनि सोच्छ
नसोच्ने पनि सोच्छ
सानी छोरीले बोलाउँदा ङिच्च हाँसिदिन्छ
श्रीमतीले बोलाउँदा ठुस्स रिसाइदिन्छ
छुट्टै बसेको छ
क्रिया पुत्री बसे जसरी
यौटा कोठाको कुना भित्र
अझै रिपोर्ट आएको छैन
रिपोर्टको पर्खाइमा छ ऊ
कसै सँग बोल्न मन लाग्दैन उसलाई
साथीहरुको फोन आयो भने चट्ट काटिदिन्छ
बाबा आमाको फोन आयो भने सोझै ढाँटिदिन्छ
बढो गम्भीर भएको छ
बढो दार्शनिक बनेको छ
समाचार सुनिरहन्छ
स्वास्थ विज्ञप्ति पढिरहन्छ
स्वाब दिएर आए पछि उस्को सबथोक फेरीएको छ
हुनत उसलाई केही भएको छैन
ज्वरो आएको छैन
टाउको दुखेको छैन
घाँटी दुखेको छैन
रुघाखोकी लागेको छैन
कन्ट्राकट्रेसिङमा परे देखि
मात्रै अफिस जान पाएको छैन
साथीभाइ भेट्न पाएको छैन
छोरी सँग खेल्न पाएको छैन
यौटा स्वस्थ मान्छे
घरमै बसेर
आफैले आफैंलाई पोजेटिभ फिल गरिरहेको छ
प्रतीक्षामा छ नेगेटिभ रिपोर्टको ।

सुरज उपाध्याय