मिल्क बाथ लिइरहेका डेरीका कर्मचारीलाई प्रहरीले गर्यो गिरफ्तार

एजेन्सी । मिल्क बाथको यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखेका छन् । यो भिडियो सामाजिक सञ्जालमा तीब्र रुपमा भाइरल भइरहेको छ । दुध डेरी प्लान्टको प्रशासनले उनले नुहाएको दुधले नभइ पानी र सफाई गर्ने एकप्रकारको तरल पदार्थले भएको स्पष्टिकरण दिएका छन् । कम्पनीले ती व्यक्तिलाई कडा कारवाही गर्दै कामबाट निकालिदिएको छ ।

रिपोर्टका अनुसार उक्त भिडियो सार्वजनिक भएपछि टर्कीको सो डेरी प्लान्ट बन्द भएको छ । ती व्यक्तिको उक्त भिडियो टिकटकमा भाइरल भएको थियो । भिडियोमा उनी दुधले भरिएको बाथटबमा आरामसँग नुहाइरहेका छन् र मगले उनी दुधले भरिएको बाथटबबाट दुध आफ्नो शरीरमा खन्याइरहेका छन् ।

यो भिडियो टर्कीको कोन्यास्थित सेन्ट्रल एनाटोलियनको एक डेरी प्लान्टमा रेकर्ड गरिएको थियो । यस भिडियोमा देखिएका व्यक्तिको नाम एमरे सायर हो र भिडियो अपलोड गर्ने व्यक्ति युगर तुरगुट हुन् । प्रहरीले दुबैलाई गिरफ्तार गरेको छ ।

डेरी प्लान्ट प्रशासनले कम्पनीको छवी नष्ट गर्ने उद्देश्यले बनाइएको आरोप लगाएको छ । नुहाउने ती व्यक्तिले प्रयोग गरेको दुध जस्तो तरल पदार्थ बोइलर सफा गर्ने कामका लागि प्रयोग गरिने बताइएको छ ।

त्यसैगरी कोन्या एग्रिकल्चर तथा फरेष्ट्री म्यानेजर अली एर्गिनले यस घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन् भने डेरीलाई बन्द गर्ने आदेश जारी गरेका छन् । उनले यस डेरीमा देखिएको दृष्यका कारण मानिसहरुको स्वास्थ्यमाथि खतरा हुने देखेर बन्द गर्नुपर्ने भएको बताए । त्यसका साथै उक्त डेरीलाई जरिवाना पनि तिराइएको छ ।