नेकपा सचिवालय बैठक बोलाउन ओली तयार

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठक बोलाउन तयार भएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि वा पर्सीसम्ममा बैठक बोलाउने तयारी गरेपछि ओली बैठकका लागि तयार भएका हुन् ।

विवाद बढेपछि असोज १९ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । दुई दिनभित्र बैठक बोलाउन प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले लिखित आग्रह गरेपनि ओलीले बैठक बस्न अस्वीकार गर्दै आएका थिए ।

प्रचण्डले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एक दुईदिनभित्रै आफूले औपचारिक बैठक बोलाउने सन्देश पठाएपछि ओली दबाबमा परेका हुन् । त्यस लगत्तै उनले महासचिव विष्णु पौडेललाई बिहीबार बैठक राख्नका लागि निर्देशन दिएका स्रोतको भनाइ छ ।

बैठक राख्न आफू तयार रहेको र विवादका अन्य विषयमा पनि छलफल गरौँ भन्दै फोन गरेपछि प्रचण्ड बालुवाटार पुगेर भेटवार्ता भएको छ । बालुवाटारपछि प्रचण्ड पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठकका लागि जाने तयारी छ ।

विवाद बढ्दै गएपछि ओलीले सोमबार महासचिव पौडेलमार्फत सचिवालय बैठक विधान अनुसार १५ दिनपछि बोलाउने सन्देश पठाएका थिए । तर, प्रचण्डले आफूमा बैठक बोलाउने अधिकार भएकाले छिट्टै औपचारिक बैठक राख्ने बताएका थिए ।