क्रिकइन्फो भन्छ : आइपिएल क्रिकेटमा आज सन्दीप खेल्ने सम्भावना धेरै

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो क्वालिफयरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे अबुधावीस्थित शेख जायद रंगशालामा सुरु हुनेछ ।

मुम्बइ इण्डियन्ससँग पराजित भएर दिल्लीले दोस्रो क्वालिफायर खेल्न लागेको हो भने हैदरावादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेर क्वालिफायरमा स्थान बनाएको हो । आजको बिजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोली उपाधि होडबाट बाहिरिनेछ । फाइनल मंगलबार हुनेछ ।

सन्दीप लामिछानेको खेल्न सम्भावना कति ?

सन्दीप आवद्ध दिल्लीका पछिल्ला खेल हेर्दा व्याटिङ र बलिङमा राम्रो हुन सकेको छैन । पछिल्ला दुई खेलमा तीन विदेशी तीव्र गतिका बलर खेलाउँदा प्रमुख ब्याट्सम्यान सिम्रन हेटमायरलाई बेञ्चमा राखिएको छ । हेटमायरको ठाउँमा खेलेका डानियल साम्सको ठाउँमा आज सिम्रन हेटमायर वा सन्दीप लामिछानेलाई खेलाउने सम्भावना छ ।

भारतीय मिडियाले अन्तिम ११ मा सन्दीपको नाम समावेश गरेका

भारतीय क्रिकेट विश्लेषकहरुले पहिलो प्लानमा हेटमायर नै खेलाउन सक्ने र पिचको अवस्था हेर्दा सन्दीपले स्थाान पाउन सक्ने अनुमान गरेका छन् । चर्चित वेभसाइट क्रिकइन्फोले पनि प्लान बि अन्तरगत लामिछानेले आज यो सिजनको पहिलो खेल खेल्न सक्ने जनाएको छ ।

चार विदेशी खेलाडीमा कगिसो रबाडा, एनरिच नोर्किया र मार्कस् स्टोइनिसलाई अनिवार्य समावेश गर्नेछ । पृथ्वी शाँले राम्रो प्रदर्शन गर्न नसकेकाले ओपनिङका लागि स्टोइनिसलाई खेलाउन सक्ने अनुमान गरिएको छ ।

 क्रिकइन्फोले प्रस्तुत गरेको सन्दीप खेल्न सक्ने सम्भावनाको आधार

तर, पछिल्ला खेल हेर्दा दिल्लीको ब्याटिङ कमजोर छ । त्यसलै ठूलो सर्टका लागि पनि हेटमायरले अन्तिम ११ मा स्थान पक्का गर्ने सम्भावना छ । बलिङ बलियो बनाउनका लागि नेपाली लेगस्पिनर सन्दीप राम्रो विकल्प हुन् । दिल्लीले अफस्पिनरद्वय अक्षर पटेल र रविचन्द्रन आश्विनलाई खेलाउँदै आएको छ । यी दुईले आज पनि निरन्तरता पाउने छन् ।

दिल्लीलाई लेगस्पिनरको अभाव भएको, पिच स्लो भएको र अन्य खेलाडीमा भर पर्न नसकिएका कारण दिल्लीको आजको खेलमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना रहेको छ ।