चितवन प्रहरीको एक्सन : मोटरसाइकल चोरी गिरोहका सात जना पक्राउ (भिडियो)

चितवन : चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने ७ जनालाई मोटरसाईकलसहित सार्वजनिक गरेको छ । मोटर    साईकल चोरीको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाईकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहर चोक, पावरहाउस चोक, विक्रम मार्ग लगायत जिल्लाको विभिन्न स्थानबाट मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला बारा करैयामाई–५ घर भई हाल चितवनको खैरहनी– ९ बस्ने वर्ष २८ का विजय चौधरी, भरतपुर ३ बस्ने वर्ष १९ का राकेश चौधरी, बारा कोल्हवी– ७ बस्ने वर्ष २४ का महेश चौधरी, भरतपुर ११ बस्ने वर्ष २६ का दिनेश गुरुङ र वर्ष २५ का मनोज दराई रहेका छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरुले बाइकको नम्बर फेरेर बिक्रि गरेका थिए । उनीहरुबाट प्रहरीले बजाज पल्सर २०० एनएस मोटरसाईकल, सेतो केटिएम (ड्युक) २०० सि.सि मोटरसाईकल, २२० सिसिको मोटरसाईकल बरामद गरेको छ । उनीहरुले मोटरसाइकलको पार्टपुर्जा खोलेरे बेचेको समेत भेटिएको छ ।

मोटरसाइकलको लक तोड्ने साँचो, साँचो बनाउने मेसीन समेत बरामद गरेको छ । प्रहरीले चोरीका मोटरसाइकल खरिद गर्ने २ जनालाई समेत नियन्त्रणमा लिएको छ । विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, बिक्रममार्ग लगायतका स्थानबाट मोटरसाईकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाईकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत प्रहरीले बरामद गरिएको जनाएको छ ।

खैरहनी–। १२ बस्ने वर्ष २४ का समिर चौधरी र वर्ष २८ का अमृत चौधरी छन् । प्रहरीले ४ मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारेको छ । २०० सिसि केटिएम ड्युक मोटरसाईकल, १५० सिसिको पल्सर मोटरसाइकल, १५० सिसि मोटरसाइकल, २२० सिसि को पल्सर मोटरसाइकल छन् ।

चोरी भएका मोटरसाइकलमा गण्डकी प्रदेश, बागमती प्रदेशका छन् । जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाइएको बताउनुभयो । उहाँले प्रविधिको उच्चतम प्रयोग गरी चोरी कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न लागिपरेको बताउनुभयो ।