फ्रन्टलाइन हिरोजको ‘काेराेना’ अनुभव : ‘मानसिक रुपमा धेरै पटक संक्रमित पनि भएँ’

चितवन, २१ कात्तिक । नोभल कोरोना भाइरस कोरोना भाइरसकै एक नयाँ प्रजाति हो । याे चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई अहिले कोरोना भाइरस अर्थात कोभिड–१९ नामाकरण गरिएको छ । यसअघि मानव समुदायले थुप्रै महामारी भाेगे । तर अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारी ती सबैभन्दा निकै फरक बन्याे ।

यसलाई अहिले नियन्त्रण गर्नै कठिन देखिएको छ । यसकाे प्रभाव अहिले हरेक क्षेत्रमा देखिएकाे छ । म निन्द्रा मै थिए । रातको करिब १ः३५ बजेको रहेछ । साथमै रहेकाे माेवाईलमा फाेन आयाे । त्याे फाेन कोभिड प्रयोगशालाबाट रिपोर्टकाे जानकारीकाे लागि रहेछ । एक वृद्ध दम्पतीकाे काेराेना रिपोर्टकाे पोजिटिभ आयाे । हस्याङ्गफस्याङ्ग गर्दै म ओछ्यानबाट उठेँ । सम्भव भएसम्मको कोभिडका विभिन्न जिम्मेवारीमा रहेर व्यवस्थापन गरिरहनु भएका व्यक्तिहरुलाई फोन गरेर जानकारी गराएँ । तत्कालै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारी सर, म र जिल्ला प्रहरी कार्यालयको इन्सपेक्टरको कमाण्डमा केही सुरक्षाकर्मीसहित राति नै उहाँलाई अस्पतालको आइसोलेसनमा ल्याउनको लागि एम्बुलेन्ससहित संक्रमितको घर तर्फ लाग्यौं । सुरुसुरुमा कोरोना भन्नेवित्तिकै सातो जाने बेला थियो ।

संक्रमितको वरपर कोही पनि पर्न नचाहने अवस्था थियो त्यतिबेला । मेराे मनमा पनि निकै डर लागिरहेको थियो । संक्रमितको छोरा फोन सम्पर्कमा आइसक्नुभएको थियो । त्यसैले त्यो दिनको व्यवस्थापन सहज भयो । नेपालमा केही व्यक्तिमा संक्रमण देखिनेवित्तिकै चैत ११ गतेबाट लकडाउन सुरु भयो । परीक्षा दिँदै गरेकी छोरीको दुई वटा विषयको परीक्षा दिएपछि स्थगित भयो । एसईई सम्पूर्ण तयारी पूरा गरी परीक्षा केन्द्रको नजिकै पुगेका विद्यार्थीहरु निराश र डर त्रासमा परीक्षा स्थगितको खबरले घर फर्किए ।

सबै क्षेत्र एकै पटक ठप्प हुँदा सडकहरु सुनसान भए । मानिसहरू घर भित्र बसेर छिट्टै सुरक्षित हुने आशामा केही समय शान्त नै रहे । लगातार देश बाहिर कोभिड–१९ का संक्रमितहरु बढ्दै गए । समाचारहरूमा मानिसहरुको मृत्युका खबरहरु हाइलाइट हुँदै गए । नेपालमा मनोसामाजिक र मनोवैज्ञानिक रुपमा मानिसहरुमा प्रभाव पर्यो । अस्पताल र स्वास्थ्य संस्थाहरुमा एक किसिमको तरङ्ग नै फैलियो । स्वास्थ्यकर्मीहरु आफूलाई सुरक्षित राख्न सम्भव भएसम्मका उपायहरु गर्न थाले यतिसम्म कि अहिले रु. ७० मा पाइने मास्कलाई ७ सय देखि ९ सयसम्म तिरेर पनि लगाउन थाले । बिरामीहरूलाई यो समस्या छिट्टै समाधान हुने आशामा एक खाले मनोबलका साथ समय कुर्दै थियो ।

काेराेनाकै कारण केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्मको नेतृत्वकर्ताहरु र स्वास्थ्यका नीति नियम बनाउनेहरुमा नै ठूलो अलमल देखा पर्न थाल्यो । दिनहुँजसो मिटिङ्ग र छलफलहरु भए । साधारण जनता भने राज्यले सुरक्षा गर्ने आशामा ढुक्क थिए । कोभिड–१९ ल्याबबाट फाटफुट संक्रमितहरु पुष्टि हुँदै गए । धेरैजसो स्वास्थ्य संस्थाहरु संक्रमितको उपचार गर्नबाट पन्छिने बहाना खोज्दै गए ।

राज्यले संक्रमितहरुको उपचार निःशुल्क गर्ने र उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई भत्ता दिने निर्णय गर्यो । एकातिर संक्रमितहरू बढ्दै गए भने अर्कोतिर संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण अत्यन्त साँघुरो हुँदै गयो । हिजो यो बाटो बिरामी हिँडेको कुरा थाहा पाएर आज त्यो बाटो मान्छे नै नहिडेको कुरा पनि सुन्नमा आयो ।

जसले गर्दा संक्रमित भएर रोगको कारणले हुने समस्या भन्दा पनि समाजबाट तिरस्कृत हुने मनोविज्ञानका कारण मानिसहरुमा अर्को ठूलो त्रास पैदा भयो । विडम्बना पढेलेखेका र बुझेका मान्छेहरुबाटै संक्रमित तथा उपचारमा खटिएको कारण स्वास्थ्यकर्मी अपहेलित हुनुपर्यो । संक्रमितको संख्या बढ्दै गएपछि समस्या तत्काल समाधान नहुने संकेत मान्छेहरुले बुझ्न थाले । दिनहुँजसो काेराेना सम्बन्धी सूचना र समाचारमा मान्छेहरुको ध्यान खिचिदै जान थाल्यो ।

यस बिचमा सूचनाहरु तोडमोड गरेर जनमानसमा सन्त्रास फैलाउने समूह समेत सक्रिय देखिए भने छिटो सूचना दिने होडबाजीमा गलत सूचनाहरु समेत प्रवाह भए । त्यतिबेला निकै अप्ठ्यारो महसुस पनि भयो । दिनहुँजसो संक्रमितहरुसँग फोनमा तथा भेटेर कुराहरु हुन थाले । केहि हाईप्रोफाइल व्यक्तिहरुमासमेत कोरोना संक्रमण देखिएर उहाँहरुको नाम सार्वजनिक हुँदा अन्य संक्रमितहरूको केही मनोबल बढे जस्तो देखिन्थ्यो । मैले यो बीचमा धेरै संक्रमितहरूको व्यक्तिगत र सामाजिक समस्या सुनेको छु जसमा असाध्यै गरिब र विपन्नदेखि सम्पन्न परिवारका व्यक्तिहरु हुनुहुन्छ । काेराेनाले पारेको मनोवैज्ञानिक त्रास निकै ठूलो छ ।

आफ्नो परिवार परिवारको सदस्य बिरामी पर्दा आफूले नै सहयोग गरेर सेवा गर्न नपाउने, गुमाउनु पर्दा छातिमा टाउको राखेर रुन नपाउने, यतिसम्मकी अन्तिम घडीमा मुखमा पानी समेत राखिदिन नपाउने मान्छेले कल्पना गरेको भन्दा फरक खालको रोग कहिलेकाहीँ त सपना जस्तो भोगाइ अधिकांशमा छ । झट्ट हेर्दा असाध्यै सामान्य देखिने यो संक्रमणले आजका दिनसम्म आइपुग्दा सबै क्षेत्र अस्तव्यस्त पारेको छ । मेरा धेरै सहकर्मीहरू संक्रमित हुँदा मानसिक रुपमा म पनि धेरै पटक संक्रमित भइसकेको छु । उहाँहरुको पीडा सुन्दा म पनि पटक पटक पीडित भएको छु । उहाँहरुले आत्तिएर फोन गर्दा धेरै पटक म पनि आत्तिएको छु ।

उहाँहरुलाई समाजले फरक दृष्टिले हेर्दा म धेरै पटक तर्सिएको छु । मेरो सहकर्मीलाई घरबेटीले घरबाट निकाल्दा पटक–पटक म सडकमा पुगेको अनुभव गरेको छु । ठूलै गल्ति गरेजस्तो गरेर छिमेकीहरुले हेपे भनेको सुन्दा धेरै पटक एक्लो भएको अनुभव गरेको छु । बेडबाट उपचारको लागि अनुरोध गरिरहँदा उपचार नपाएर मरेको अनुभव गरिरहेको छु ।

दिनहुँजसो मृत्युको खबर लेखिरहनु पर्दा मृतकको परिवारसँग पटकपटक क्षमायाचना गरिरहेको छु । निको भएर घरमा हुनेको पनि धेरै जसोको राम्रो खबर सुन्न र सुनाउन पाएको छैन । अहिले पनि आइसोलेसन बस्दा समस्याहरू आइरहेका छन्, जस्तै असाध्यै कमजोर हुने, आत्तिने, बाहिर निस्किन डर लाग्ने, निन्द्रा नलाग्ने । तर केही भने पहिला जस्तै भएर आफ्नो नियमित काममा फर्किसक्नुभएको छ । अहिले आउने फोनहरु पनि संक्रमित हुँदा देखिएका केहि लक्षणहरू यथावत रहेको भन्ने खाले हुन्छ ।

सायद संक्रमित हुँदा एक्लै बस्नुपर्ने तथा नमिठो शरीर दुखाइ र गाह्रो हुँदै गर्दा फोनमा मसँग कुरा भएका बिरामीहरुका शब्द निकै पीडादायी र मर्मस्पर्शी हुने गर्छन् । ‘दाइ, मेरो आमा मलाई भेट्न आत्तिनु भएको छ, म तपाईंको छोराछोरीको साथी हुँ, म भेट्न आएको भनेर भनिदिनू न, मेरो आमाको मनोबल बढ्छ’ । कोभिड आइसियूमा भएकी बुढी आमा र यस्तै–यस्तै प्रकृतिका कयौं अनुनयहरुले पटकपटक मन छियाछिया बनाउँछ । कोभिडबाट ३७ हप्ताको गर्भवती र १९ दिनको सुत्केरीको मृत्युको खबर सार्वजनिक गर्ने मेरो बाध्यताका बीच यी घटना सामान्य जस्तो देखिए पनि व्यक्तिगत जिन्दगीमा यति पीडादायी क्षणको अनुभव यसअघि कहिल्यै भएन ।

संक्रमित आफू संक्रमणमुक्त हुँदा पुनरजन्म पाएको अनुभव गरेको तर पनि मानसिक र शारीरिक रुपमा दुर्बल नै रहेको छ । मानिसहरुले आफूप्रति देखाएको व्यवहारले दिक्क मानेको र नजिकका साथीभाईमा व्यक्त गर्ने गरेको पाइएको छ । अझै पनि आफूलाई संक्रमित रहँदाको अवस्थाका केही लक्षण यथावत रहेको जस्तै थकाइ लाग्ने, स्याँ–स्याँ हुने, आत्तिने, एक्लै बस्न मन पराउने आदि समस्या पनि छन् । कोहि भने आफू पहिलेको अवस्थामा फर्किएको र आफूमा कुनै पनि समस्या नरहेको पाइयो ।

संक्रमितको व्यक्तिगत कुराकानी छोडेर समग्र मनोसामाजिक पक्ष हेर्दा आगामी दिन अझै जटिल हुने देखिन्छ । अहिले चाहेर वा नचाहेर कोरोनाको सन्त्रासमा भोलिको कुनैको विकल्प छैन । तर, भोलिलाई विश्लेषण गरेर हेर्ने हो भने यो अवधिको क्षति केही गरे पनि पुरिने देखिँदैन । शिक्षा क्षेत्रमा लाखौं विद्यार्थीहरु जबरजस्ती पढाइबाट टाढा रहनु पर्दा, उद्योगी व्यवसायीहरु, जो राज्यको राजस्वको स्रोत हुन्, पूर्ण रुपले बन्द भई श्रमिकहरु समेत पारिश्रमिक विहीन हुनु पर्दा, पर्यटन र होटेल व्यवसायहरू प्राय ठप्प भई थन्किनुपर्दा, लगानीका सम्भावनाहरु अन्योल ग्रस्त भई बैंकिङ सेवा प्रभावित हुँदा, आयात निर्यातहरु बन्द भई उत्पादन प्रभावित हुँदा हरेक स्थान र वर्गका व्यक्तिहरु सिधै प्रभावित भएको देखिन्छ । संसारका अन्य मुलुकमा जस्तै नेपालमा पनि काेराेना संक्रमण शहर केन्द्रित छ ।

अहिलेसम्म संक्रमितको संख्या ह्वात्तै उकालो लागेको छ । हुन त मैले सुरुमै उल्लेख गरेजस्तो राति उठेर संक्रमित लिन जाने अवस्था अहिले छैन । संक्रमितलाई अस्पताल लगेको बाटोमा हिँड्न हुन्न भन्ने पनि छैन । पहिले जस्तो समाजमा अपराध गरे जस्तो गरी संक्रमित, स्वास्थ्यकर्मीहरु तथा अन्य अग्रपंक्तिमा रही खट्नेहरुलाई अपहेलना पनि खासै छैन । कम्तिमा संक्रमितहरु आफ्नै घरलाई आइसोलेसन बनाई ढुक्कसँग बस्ने अवस्था छ । यता सडकतिर हेर्दा मानिसहरुको धैर्यताको बाँध फुटेजस्तो देखिन्छ, सायद बाध्यता पनि बन्यो होला । अहिले सडक व्यस्त देखिन्छ । कोरोनासँग अब जुध्न मानसिक रुपमा तयार भएजस्तो देखिन्छ । तर असफल लडाइँको के अर्थ हुन्छ र ? फेरि मान्छे गलेर लडेको पनि देखिन्छ । अहिले राज्यले पहिलेजस्तो संक्रमितको उपचार र व्यवस्थापनमा धेरै महत्व दिए जस्तो देखिदैन ।

हुन त नागरिक आफैं सचेत हुनु नियन्त्रणको प्रमुख आधार ठानेर होला । अहिले अस्पतालहरुमा पाँच प्रतिशतको हाराहारीमा र समग्रमा एक प्रतिशतको हाराहारीमा मृत्यु भएकाे देखिन्छ भने पछिल्लो समय लक्षणसहितका संक्रमितहरुले अस्पतालको आइ.सि.यु र आइसोलेसन भरिएका छन् । उता निको भएका संक्रमितहरुलाई मनोसामाजिक केन्द्रहरु मार्फत सेवा दिन अति आवश्यक भएको छ । अधिकांश संक्रमितहरू आफू संक्रमित भएको स्थान र व्यक्ति सोच्दैमा पूरै आइसोलेसनको समय अवधि सकिएको तर पनि यहाँ र यो व्यक्तिबाट सरेको भनेर टुंगोमा नपुगेको अनुभव सुनाउँछन् । यसरी हेर्दा संक्रमणबाट जोगिन आफू घर बाहिर निस्केपछि सबै व्यक्ति र स्थान असुरक्षित छ भन्ने सोचेर दैनिक गतिबिधिहरुमा संलग्न भयौं भने नियन्त्रणमा हरेक व्यक्तिको तर्फबाट सहयोग पुगेको भन्ने अवस्था सिर्जना हुन सक्छ ।

केही व्यक्तिहरु आफू मनोसामाजिक रुपमा कमजोर भएर पनि खेलकुद, योग, मनोरञ्जन, व्यायाम आदिको सहायतामा पूर्ववत अवस्थामा नै फर्किएको अनुभव सुनाउँछन् । केहीले आफ्नो महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु पर्ने भएकाले संक्रमणमुक्त भएलगत्तै सामान्य जीवनमा फर्किएको र कुनै अफ्ठ्यारो नभएको अनुभव सुनाउँछन् ।

मनोवैज्ञानिक र सामाजिक रुपमा आफूलाई गतिशील र सक्रिय बनाई कोरोना संक्रमण या संक्रमणको त्रासलाई व्यवस्थापन गर्दै सबै सजगताहरु अपनाउँदै अगाडि बढ्नु अबको आवश्यकता हाे । अव डर र त्रास भन्दापनि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालनागरी आफ्नो नियमित काम गर्नुपर्ने दिन आएकाे छ । याे महामारी नियन्त्रणमा राज्यलाई सहयोग गर्नु तपाईं हाम्रो दायित्व पनि हाे । उसाे त यस्तो महामारीकाे समयमा राज्यले पनि असल र जिम्मेवार अभिभावककाे भूमिका खेल्नु पर्छ ।
(लेखक पाैडेल चितवनस्थित भरतपुर अस्पतालका सूचना अधिकारी हुन्)