बालविवाहविरुद्ध संघर्ष गर्ने पहिलो महिलाः रखमाबाई राउत

 

बीबीसी :  डा. रखमाबाई राउत सम्भवतः भारतकी पहिलो महिला डाक्टर थिइन् । तर पहिलो महिला डाक्टरभन्दा पनि उनी भारतको प्रारम्भिक नारीवादीमध्ये एक हुन् । केवल २२ वर्षको उमेरमा उनले अदालतमा सम्बन्धविच्छेदका लागि कानुनी लडाइँ लडिन् ।

ती दिनहरूमा पुरुषले आफ्नी श्रीमतीलाई छोड्नु वा भनौं सम्बन्धविच्छेद गर्नु सामान्य थियो । तर सायद रखमाबाई भारतकी पहिलो महिला थिइन्, जसले आफ्नो श्रीमान्‌बाट सम्बन्धविच्छेदको माग गरिन् । बालविवाहविरुद्ध संघर्ष गरेकी रखमाबाईको त्यो कदमले त्यस समयको रुढिवादी समाजलाई पूरै हल्लायो ।

उनको जन्म सन् १८६४ मा मुम्बई (तत्कालीन बम्बे) मा भएको थियो । उनकी विधवा आमाले ११ वर्षको उमेरमा उनको विवाह गरिदिइन् । तर उनी कहिले आफ्नो श्रीमान्‌को घरमा बस्‍न गइनन् र सधैं आफ्नी आमासँगै बसिन् ।

सन् १८८७ मा उनका श्रीमान् दादाजी भीकाजीले वैवाहिक अधिकारको पुनस्र्थापनाका लागि अदालतमा निवेदन दिए । आफ्नो बचाउमा रखमाबाईले उनको सहमतिबिना सानो उमेरमै विवाह गरी पठाएको भन्दै कसैले पनि उनलाई यो वैवाहिक सम्बन्धमा बसिराख्‍न जबरजस्ती गर्न नसक्ने बताइन् ।

तर त्यो समयमा श्रीमतीले सम्बन्धविच्छेदको लागि पहल गर्न पाउने अधिकार थिएन । त्यसैकारण उनको श्रीमान्‌को निवेदनलाई महत्त्व दिँदै अदालतले फैसला सुनाउँदै दुई विकल्प दियो । पहिलो, या त उनी आफ्नो श्रीमानसँग बस्‍न जानुपर्ने अथवा ६ महिनाका लागि जेल जाने ।

उनले पनि जबरजस्ती भएको वैवाहिक सम्बन्धमा बस्‍नुभन्दा जेल जान सही ठानिन् र जेल जान तयार भइन् । उनको निर्णय त्यो समयमा ऐतिहासिक र साहसी निर्णय थियो । त्यो मुद्दाले लामो समय लियो । उनको निकै आलोचना पनि भयो । यहाँसम्म कि स्वतन्त्रता संग्राम सेनानी बालगंगाधर तिलकले पनि रखमाबाईविरुद्ध आफ्नो पत्रिकामा लेखेका थिए । उनले आफ्नो आलेखमा रखमाबाईको उक्त कदमलाई हिन्दू परम्परामा धब्बाका रूपमा परिभाषित गरेका थिए । साथै उनले यो पनि लेखे, “रखमाबाई जस्ता महिलालाई चोर, व्यभिचारी र हत्याको आरोपितहरूलाई गरिने जस्तै व्यवहार गरिनुपर्छ ।”

ती आलोचना र निन्दाकाबीच पनि उनी आफ्नो निर्णयमा अडिग रहिन् । कानुनले उनको पक्षमा निर्णय नसुनाए पनि उनले लडाइँ जारी राखिन् । अन्ततः उनले आफ्नो वैवाहिक सम्बन्ध समाप्त गर्न रानी भिक्टोरियालाई एक पत्र पठाइन् । भिक्टोरियाले अदालतको निर्णय उल्ट्याइन् र अन्त्यमा रखमाबाईका श्रीमान्‌ले मुद्दा फिर्ता लिए । र, अदालत बाहिर नै यो मुद्दा सुल्झियो ।

ऐतिहासिक घटनाक्रमले ल्याएको परिवर्तन
रखमाबाईको त्यो मुद्दाले भारतमा ‘एज अफ कन्सेन्ट एक्ट १८९१’ उमेर सहमति ऐन १८९१ पारित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो कानुनका आधारमा भारतमा सबै केटीहरू ९विवाहित र अविवाहित० सँग यौन सम्बन्ध राख्‍न सहमतिको उमेर १० वर्षबाट बढाएर १२ वर्ष गरिएको थियो ।

यही कानुनका आधारमा, कम उमेर ९बालिका० की केटीसँग यौन सम्बन्ध राखे दण्डित हुने, यदि ती केटी वा महिला विवाहित भए पनि यसको उल्लंघनलाई बलात्कारका रूपमा वर्गीकृत गरिएको थियो ।

सम्बन्धविच्छेद भएलगत्तै रखमाबाई सन् १८८९ मा लन्डन स्कुल अफ मेडिसिन फोर वुमनमा भर्ना भइन् र सन् १८९४ मा स्‍नातकसम्मको अध्ययन पूरा गरिन् । उनी एमडी पनि गर्न चाहन्थिन् ।

तर लन्डन स्कुल अफ मेडिसिनले त्यस समयसम्म महिलालाई एमडी शिक्षा प्रदान गर्दैनथ्यो । स्कुलको यो निर्णयविरुद्ध पनि उनले आवाज उठाइन् ।

त्यसपछि उनले ब्रसेल्सबाट एमडीको पढाइ पूरा गरिन् । अन्ततः रखमाबाई भारतको प्रथम महिला एमडी र अभ्यास गर्ने डाक्टर बनिन् । श्रीमान्‌बाट अलग हुने निर्णयमा उनले धेरै व्यक्तिबाट आलोचना सुन्‍नुपर्‍यो तर उनी रोकिइनन् ।

उनी सुरुमा मुम्बईको कामा अस्पतालमा काम गरिरहेकी थिइन् । तर पछि उनी सुरत गइन् । रखमाबाईले आफ्नो सम्पूर्ण जीवन महिला स्वास्थ्यमा समर्पण गरिन् र ३५ वर्षसम्म सक्रिय रूपमा लागिन् । उनले आफ्नो जीवनकालमा दोस्रो विवाह गरिनन् ।