स्थानीय स्रोत र साधनले फेरियो गाउँको मुहार

हुम्ला । आफू र परिवारको सुखका लागि उहिले मुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले देखाएको छ ।

गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण नेक्पाका स्थानीयवासीले दिएका छन् ।

खेर गइरहेको जडीबुटी सङ्कलन गरेर यहाँका स्थानीयवासीले घरको छाना नै बदल्नुका साथै पठनपाठनको गर्जो समेत टार्न सफल भएका छन् । यहाँको जङ्गलमा पाइने जटामसी, कुट्खी, सेतकचिनी जस्ता जडीबुटीले स्थानीयवासीको जीवनमा महìवपूर्ण परिवर्तन ल्याइदिएको छ ।

जडीबुटीको सङ्कलनबाट हुम्लाकै दुर्गम नेक्पा बस्तीमा बर्सेनि खरका छाना हटाउने क्रम जारी रहेको स्थानीय धनबहादुर तामाङले जानकारी दिए। स्थानीयवासीले जङ्गलमा पाइने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जबाट आउने व्यापारीलाई बिक्री गर्छन् । उच्च हिमाली भेगमा पाइने यी मूल्यवान् जडीबुटी विदेश निर्यात हुने गर्छ । जसले गर्दा माग पनि निकै हुने गर्छ ।

तामाङले गाउँमा अन्न उत्पादन राम्रै हुने भए पनि कमाइको मुख्य स्रोेत जडीबुटी भएपछि घरमा जस्तापाताका छाना लगाउन थालेको बताए। याममा घरका काम गर्न सक्ने सबैजना जडीबुटी सङ्कलन गर्न जाने भएकाले त्यसबाट दह्रो कमाइ गर्न सकिने उनको भनाई छ। अर्का स्थानीय धनबहादुर तामाङ पनि जडीबुटीकै कमाइबाट घरमा खरको छाना फेरेर पक्की बनाउन सफल भएको बताउन्छन् । उनको परिवारले जडीबुटीबाट मात्र वार्षिक १२ देखि १ं५ लाख रुपियाँ कमाइ गर्ने गर्छ । यसबाट घरको छाना फेर्न सफल भएको उनको भनाई छ ।

वडाध्यक्ष भैरव तामाङ नेक्पामा परिवर्तन ल्याउन जडीबुटीको कमाइको महत्वपूर्ण योगदान रहेको बताउन्छन् । कुल ६६ घरधुरी रहेको नेक्पा गाउँमा ४६ घरधुरी दुई वर्षमा खरका छाना हटाएर जस्तापाताले छाउन सफल भएको उनले बताए । अब बाँकी रहेका २० घरधुरी पनि खरका छाना हटाउने अन्तिम तयारीमा रहेको बताउँदै वडाध्यक्ष तामाङले यो हिउँदसम्म धेरै घरका छानाको मुहार फेरिने जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।