गत २४ घण्टामा ३४३० जना डिस्चार्ज- कोरोनाबाट थप १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ३०५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३०६८ जनाको पीसीआर परीक्षण गर्दा ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १३९८ जना संक्रमित भएका छन् । काठमाडौंमा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४८४०८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.८ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १८ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।