कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालले बुधबार उनको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासि बान्ता भएपछि बिपी कोइराला प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ । रासस