दिव्यतारा सहकारीको शाखा चितवनमा खोल्न माग

चितवन :  वि.स. २०५५ सालमा स्थापना भई प्रदेशको राजधानी हेटौंडाबाट सेवा दिइरहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा छिमेकी जिल्ला चितवनमा पनि खोल्न माग आएको छ । बुधबार चितवनको भरतपुरस्थित चौबिसकोठीमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले दिव्यताराको शाखा चितवनमा पनि खोल्न माग गरेका हुन् ।

भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहसहितको टिमले केही समय अघि दिव्यतारा र यसले गर्दै आएको कामको अवलोकन गरेका थिए । दिव्यताराले विभिन्न क्षेत्रमा नमूनालायक काम गरिरहेको थाहा पाएपश्चात चितवनमा पनि शाखा खोल्न माग गरेको उनले बताइन् । चितवनमा भएका सहकारीहरु संग समन्वय गरि काम गरिने उनको भनाई छ । यता सहकारी संस्थाका अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले दिव्यताराले गर्दै आएको कामको बिषयमा कार्यक्रमका सहभागीलाई जानकारी गराएकी थिइन् । ‘मकवानपुरमा ९ वटा सेवा केन्द्रमार्फत काम गरिरहेका छौँ’, उनले भनिन्, ‘बैंक नपुगेको ग्रामीण दुरदराजमा पुगेर हाम्ले सेवा गरेका छौं ।’ सहकारीलाई केहिले कमाई खाने भाँडो बनाएको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन ।

गत साधारणसभाबाट सहकारीको कार्यक्षेत्र मकवानपुरबाट बढाएर बागमती प्रदेश बनाउने निर्णय भएको जानकारी दिँदै अध्यक्ष डीनाले आवश्यक कानूनी प्रक्रिया पूरा गरि चितवनमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन । चितवनमा रहेका सहकारी संस्थाहरु संग हातेमालो गरि काम गर्ने इच्छा भएको उनको भनाई थियो । मकवानपुरमा १० हजार बढी शेयर सदस्य रहेको दिव्यताराको करिब ३ अर्बको कारोबार रहेको छ । सहकारीले रेडियो मकवानपुर, तोरीको तेल उत्पादन तथा विक्री र उपभोक्ता सहकारी पसल सन्चालन गरिरहेको छ भने सावुन उधोग र गोलभेंडा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।

अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, संविधानसभा सदस्य अन्जनी श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनमा सचिव उत्तम जोशी, जिल्ला सहकारी संघ चितवनका निवर्तमान अध्यक्ष टीकाराम भट्टराईसहित दिव्यताराका पदाधिकारी एवम् कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।