तातोपानी खुलेपनि सामग्री आएन

सिन्धुपाल्चोक :  पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी पुनः खुला भए पनि सामग्री भने आउन नसक्दा नेपाली व्यवसायीहरूको अर्बौंको सामान चीनमा नै अड्किएको छ । नाकाबाट थोरै परिमाणमा मात्रै सामान पठाइदिँदा अर्बौंका सामान महीनौंदेखि चीनमा नै अलपत्र परेको व्यवसायीको भनाइ छ ।

नेपालका व्यवसायीहरूले आफूले किनेका सामान पठाइदिन चिनियाँ अधिकारीहरूलाई बारम्बार आग्रह गरे पनि चीनबाट सामान आउन सकेको छैन । गतवर्ष जाडो महीनाका लागि मगाएका सामानसमेत चीनतर्फ फसेको व्यवसायीको भनाइ छ ।

‘नाका त खुल्यो तर व्यवसायीहरूको सामग्री भने आउन सकेको छैन,’ हिमालय सीमापार उद्योग वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘व्यवसायीले किनेका ७५ प्रतिशतभन्दा बढी सामग्री चीनमै अड्किएको छन् ।’ संघका तर्फबाट पटकपटक चिनियाँ अधिकारीहरूसँग व्यवसायीले किनेको सामग्री पठाइदिन अनुरोध गरेको भए पनि उताबाट नआएको पौडेलले बताए । उनका अनुसार अहिले दैनिक ३ देखि ४ कन्टेनर सामग्री मात्रै नेपाल भित्रिरहेका छन् ।

स्वास्थ्य मापदण्डको नयाँ नीतिअनुसार नाका सञ्चालन हुँदा व्यवसायीले किनेका सबै सामग्री नेपाल आउन सकेको छैन । नाका खुलेपछि बुधवारसम्म १९ कन्टेनर बराबरको सामग्री मात्रै आयात भएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुर्‍याउन आउने गरेको छ । तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ नीति लागू भएपछि सोहीअनुरूप सामान आयात भइरहेको बताए । मितेरी पुल वारिसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ ।

श्रमिकहरूलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको भन्सार प्रमुख खत्रीले बताए । उनका अनुसार सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वरेन्टाइनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । आजको आर्थिक अभियानमा समाचार छ ।