चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला, तस्करले मारेको आंशका

चितवन  । चितवन राष्ट्रिय निकुञ्जमा माउ गैंडा र बच्चा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ गैंडा र बच्चा फेला परेको निकुञ्जले जनाएको छ । बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । बरालका अनुसार माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका छ । गत भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै रहेको बरालले जानकारी दिनुभयो।

चालु आर्थिक वर्षको भदौमा सोही स्थानमा तस्करको गोली लागेको अवस्थामा एउटा गैंडा मृत फेला परेको थियो । यो आर्थिक वर्षमा मात्रै ११ वटा गैंडाको मृत्यु भइसकेको छ । गैंडाको खाग विकसित नभएकोले तस्करले भदौमानै माउको खाग लगेको र माउ र बच्चा साथै रहेकोले गोलीबाट माउ र बच्चाको मृत्यु भएको हुनसक्ने बरालको भनाई छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन भने नेपालमा कुल ६४५ गैंडा रहेको तथ्यांक छ ।