९२ हजार रुपैयाँ सहित ९ जुवाडे पक्राउ

नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिकामा रकम सहित ९ जना जुवाडे पक्राउ परेका छन् । हिजो दिउसो कावासोती नगरपालिका वडा नं. ३ मानेचोक बस्ने थाम बहादुर गुरुङको घरमा जुवातास खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिनुभयो । पक्राउ पर्ने जुवाडेहरुमा कावासोती ३ बस्ने बर्ष ३२ को दिपक शर्मा, बर्ष ४० को हिमाल भुजेल , बर्ष ३५ को लाल बहादुर तामाङ, बर्ष ३८ को तुल बिर पुन, बर्ष ४३ को थाम वहादुर गुरुङ, बर्ष ६४ की फुल माया भन्ने पेमा तामाङ, बर्ष ३२ को मिन वहादुर पुन, बर्ष ३५ की मनिसा गुरुङ र बर्ष ३९ को मन लामा छन् ।
तास खेली रहेको अबस्थामा नगद रु. ९२,७३५।– (बयानब्बे हजार सात सय पैतिस), २१४ पत्ता तास र गलैचा थान १ समेत बरामद गरी उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको तामाङले जानकारी दिनुभयो ।