बागमती प्रदेशकै ठूलो कवर्डहल पटिहानीमा बन्दै

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तब्य भरतपुर-२२, पटिहानीस्थित धनौजीमा बागमती प्रदेशकै ठूलो कवर्डहल बन्ने सुनिश्चित भएको छ । गत बर्षदेखि निर्माण सुरुवात गरिएको उक्त योजनाको १ करोड बराबरको फाउन्डेसनको काम यस अघि नै सम्पन्न भईसकेको छ भने हालै बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयबाट बहुबर्षीय योजना अन्तर्गत आगामी २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७ करोड बराबरको यहि कार्तिक ३ गते टेन्डर आह्वान भएको भरतपुर-२२ का वडा अध्यक्ष बिष्णुराज महतोले जानकारी दिए । करिब ११ करोडको लागत अनुमान गरिएको यो कवर्ड हलले सिङ्गो भरतपुर महानगरपालिका र यस क्षेत्रको खेलकुद लगाएत अन्य गतिविधिमा समेत महत्वपूर्ण टेवा दिने प्रदेश सांसद रामलाल महतोले बताए । बिगतमा पदमोदय युवा क्लबले यहाँको खेल क्षेत्रको बिकासका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता तथा वडा कार्यालयले मेयर कप भलिबल प्रतियोगिता आयोजना गरि खेलको माध्यमबाट पर्यटन प्रबर्द्धनमा टेवा पुराईसकेको परिप्रेक्ष्यमा यो बहुउद्देश्यीय कवर्डहल निर्माणले खेलकुदकै माध्यमबाट सिङ्गो महानगरको पर्यटन प्रबर्द्धन लगाएत अन्य गतिविधिमा टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन । पुर्व प्रधानमन्त्री, नेकपाका कार्यकारी अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” को निर्वाचन क्षेत्र समेत रहेको देशकै १०० औं पर्यटकीय गन्तव्यभित्र पर्न सफल पटिहानी पर्यटकीय क्षेत्रमा उहाँकै पहलमा यो महत्वाकांक्षी योजना सफल हुन लागेकोमा पटिहानी युवा तथा खेलकुद बिकास परिषदका सल्लाहकार संयोजक रामहरि सेढाईले खुसी व्यक्त गरे । करिब २२०० जना दर्शक क्षमता रहने उक्त कवर्डहलमा बिभिन्न ईन्डोरहरु खेलहरु सन्चालन हुनेछन् । आधारभुत बिधालय, भरतपुर-२२, धनौजीको जग्गामा कवर्डहल निर्माणको काम भईरहेको छ ।