सिद्धबाबा नजिकै मोटरसाईकल खोलामा खस्यो, २ जना बेपत्ता

पाल्पा । सिदार्थ राजमार्गको सिद्धबाबा नजिकै सडकदेखि दुईजना सवार मोटरसाईकल तिनाउ खोलामा खसेको छ । तिनाउ गाउँपालिकाको वडा नं. ३ सिद्धबाबा नजिकैबाट तानसेनदेखि बुटवलतर्फ जादै गरेको लु १९ प ७१५६ नं. को मोटरसाईकलसहित मोटरसाईकलमा सवार दुईजना पुरुष खोलामा खसेको प्रहरीले जनाएको छ। बेलुका करिब साडे सात बजे मोटरसाईकल खोलामा खसेको हुँदा उद्दारमा केही समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताउनुभयो । मोटरसाईकल सडकदेखि झन्डै सय मिटर तल खसेको हुँदा र उद्दारका लागि सदरमुकाम तानसेनदेखि शसस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ जादै गरेको प्रमुख सारुले जानकारी दिनुभयो । भिर र रातीकोे समय भएका कारण घाईतेको अवस्थाबारे जानकारी नभएको प्रहरीले जनाएको छ ।यद्यपी दुवैजना जिवीतै रहेको प्रहरीको भनाई छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ।