राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीमा कोरोना संक्रमण

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ मध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको जनाएको छ । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार खेलाडीमा कोरोना देखिएकोमा आज (शुक्रबार) थप एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए । अहिले पाँचैजना आइसोलेसनमा छन् ।

मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् । गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो । दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन ।

तर सरकारले दसैँलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।