अक्षय र कियाराको ‘लक्ष्मी बम्बलाई’ कानुनी नोटिस !

मुम्बई : दीपावलीमा रिलिजको तयारीमा रहेको यस वर्षको अक्षय कुमारको पहिलो चलचित्र ‘लक्ष्मी बम्ब’ विवादमा फसेको छ । चलचित्रको शीर्षकलाई लिएर निर्माण टिम विवादमा तानिएको हो । चलचित्रको नाम परिवर्तन गर्नुपर्छ भन्दै श्री राजपुत कर्णी सेनाले निर्माण टिमलाई कानुनी सूचना पठाएको छ ।

अक्षय र कियारा आडवाणी अभिनीत यस चलचित्र यसै वर्षको नोभेम्बर ९ मा डिज्‍नी प्लस हटस्टारमा रिलिजको तयारीमा थियो । खबरका अनुसार यो सूचना कर्णी सेनाका तर्फबाट आघवेन्द्र मेहरोत्राले पठाएको हो । सूचनामा लक्ष्मी बम हिन्दु धर्मावलम्बीहरुले पुज्‍ने लक्ष्मी भवानीप्रति अपमानजनक र आपत्तिजनक भएको उल्लेख गरिएको छ । यसका साथै निर्माण टिमले जानजानी लक्ष्मी बम्ब नाम राखेर देवीको अनादर गरेको आरोप पनि लगाएको छ ।

निर्देशक राघव लरेन्सले मूल तमिल चलचित्र ‘मुनि २ : कन्चना’ पनि निर्देशन गरेका थिए । यही तमिल चलचित्रको हिन्दी रिमेक ‘लक्ष्मी बम्ब’ एक पुरुष जसलाई ट्रान्सजेन्डर भूतले आफ्नो नियन्त्रणमा राख्छ त्यसको कथामा आधारित छ ।
– बलिउड हंगामा