कांग्रेसको माग- निजीमा उपचार गर्ने संक्रमितलाई निःशुल्क रेम्डेसिभिर उपलब्ध गराऊ

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना संक्रमितलाई निजी अस्पतालमा उपचार गर्न भर्नापूर्व नै लिइने शुल्क महँगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले आईसीयू र भेन्टिलेटरमा पुग्‍ने बिरामीलाई चलाइने रेम्डेसिभिर नामक औषधि सरकारले निःशुल्क रुपमा प्राप्त गर्ने गरेकाले त्यसलाई निजी अस्पतालहरु उपचार गर्ने बिरामीलाई समेत निःशुल्क दिन माग गरेको छ ।

विराटनगरमा आज गरिएको पत्रकार सम्मेलनमा विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपानेले आईसीयू र भेन्टिलेटरको सुविधा भएका अस्पतालको शुल्क थेगिनसक्नुको भएको बताउँदै भने, “सरकारले निःशुल्क उपचार गराउन नसके पनि निजी अस्पतालमा जाने बिरामीका आफन्तले धान्‍न सक्ने शुल्क तोकिनुपर्छ ।” आईसीयूमै दैनिक ३५ हजार रुपैयाँ र भेन्टिलेटर शुल्क ५० हजार रुपैयाँ तिर्न सर्वसाधारणलाई निकै कठिन भएको न्यौपानेको भनाइ छ ।

सरकारले निःशुल्क उपचार गर्न नसके पनि अति आवश्यक पर्ने औषधि जस्तै रेम्डेसिभिरको सहज रुपमा उपलब्ध गराउनुपर्छ । यो परीक्षणको औषधि भए पनि अहिले एक भाइलकै २० हजार रुपैयाँसम्म कालोबजारी भइरहेको उनको भनाइ छ ।

कांग्रेस सचिव प्रकाश दाहालले कोरोनाको बढ्दो संक्रमणका कारण विराटनगरमै सर्वसाधारणलाई सरकारी अस्पतालमा उपचार सेवा पाउन कठिन भएको बताए । उनले भने, “सरकारीमा जाउँ ठाउँ छैन निजीमा जाउँ शुल्क धान्न सकिँदैन । कसरी रोगबाट बच्ने अनि उपचार लिने भन्नेमा जनतालाई त्राहीमाम भएको छ ।”

विराटनगरका कांग्रेसका कार्यवाहक सभापति न्यौपाने र सचिव दाहालले जारी गरेको विज्ञप्तिमा अस्पताल भर्ना हुने बेलामा बिरामीसँग एडभान्स माग गर्ने अस्पताललाई कारबाही गर्न, निजी अस्पताल र मेडिकल कलेजले लिने शुल्क हटाउन र कोभिड १९ का बिरामीको उपचारमा भइरहेको लापरबाहीको विषयमा सर्वसाधारणबाट समेत गुनासो आउन थालेकाले सरकारले निजी अस्पताल तथा मेडिकल कलेजको अनुगमन गर्न माग गरिएको छ ।