मोरङमा सामूहिक बलात्कार, रुपन्देहीबाट पक्राउ

विराटनगर : जबरजस्ती करणी गरेको आरोपपछि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७६ माघ १५ गते अन्दाजी राति ९ बजे मोरङको बूढीगंगा गाउँपालिका ७, बडहरामा एक बालिकालाई बूढीगंगा ६ का १९ वर्षीय सन्देश लिम्बूसहित पाँचजनाले सामूहिक रुपमा जबरजस्ती करणी गरेका थिए । मुद्दाको अनुसन्धानका सिलसिलामा वारदातमा संलग्‍न रही पक्राउ परेका चार प्रतिवादीमध्येका सन्देश लिम्बू र टंके भन्‍ने कुमार राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

तर, दुईजना नाबालाक रहेको अवस्थामा निजहरुको अभिभावकको जिम्मा लगाउन मोरङ जिल्ला अदालतबाट २०७७ वैशाख ३१ गते आदेश भएको थियो । प्रतिवादी वर्ष १६ का एक किशोर वारदातपछि फरार रहेकामा खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटी गएको विशेष टोलीले पक्राउ गरेको हो ।

उनलाई रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १५, दर्खसुवास्थित कृष्ण परियारको घरमा लुकेर बसेको अवस्थामा हिजो पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाउने प्रक्रिया रहेको मोरङ प्रहरीका प्रवक्ता (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।