पोखरा महानगरको सेवा सञ्चालनमा आउने

कास्की। पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखी सञ्चालनमा आउने भएको छ महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखी बन्द सेवा कात्तिक १३ गतेदेखी सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभयो ।
कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो । महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ । रासस