देशभर कोरोनामुक्त ७४ प्रतिशत

काठमान्डौ। नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्।

देशभर आज ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ। दुई हजार ७२५ नमूना परीक्षण गर्दा उक्त सङख्यामा सङ्क्रमण पुष्टि भएको हो। काठमाडौँमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ सङ्क्रमित थपिएका छन्। प्रदेश १ मा ३५, प्रदेश २ मा १५, वागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ। कर्णाली र सुदूरपश्चिममा आज सङ्क्रमित भेटिएका छैनन्। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४०० पुगेको छ।

४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन्। पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ।